रोनाल्डोलाई फिफा वर्ष खेलाडी अवार्ड

एजेन्सी, २६ पुस/ पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्ड जित्दै वर्षको उत्कृष्ट खेलाडी घोषित भए ।

गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् । ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोले अवार्ड उचाले ।

गएको वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ ।

दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए । यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिँदै आएको थियो ।

कमेन्टहरु
Loading...