लोकमानको अख्तियार प्रमुख हुन योग्यता नपुगेको सर्वोच्चको ठहर

काठमाडौं, पुस २४/ सर्वोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूख आयुक्त हुन अयोग्य रहेको ठहर गरेको छ । न्यायाधीशत्रय ईश्वर प्रसाद खतिवडा, आनन्द प्रसाद भट्टराई र अनिल कुमार सिन्हाको संयुक्त इजलासले आइतबार​ कार्कीसँग अख्तियार प्रमु्ख हुन अनुभव र नैतिक चरित्र नभएको फैसला गरेको हो ।

लोकमानसिंह कार्की
लोकमानसिंह कार्की

अधिवक्ता ओम प्रकाश अर्यालले अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । अदालतको फैसलासँगै कार्की पदमुक्त हुने भएका छन् ।साथै अदालतले म्याद तामेलीको मुद्दामा कार्की र पूर्वसचिव प्रमोद कुमार कार्कीलाई सफाइ दिएको छ भने कार्कीका ज्वाइँ प्रवल थापा सहित ५ जनालाई दोषी ठहर गरेको छ ।थापासँगै तामेलादार शम्भु बहादुर खत्री, काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई, खरिदार भेषराज अर्याल र प्रहरी सब इन्स्पेक्टर नकुलराज गौतमले मुलुकी ऐन प्रतिकूल काम गरेको देखिएको अदालतको ठहर छ ।

अदालतले उनीहरुलाई जनही १ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । यस्तै खत्री, राई, गौतमले पदीय जिम्मेवारी पूरा नगरी न्यायिक कार्यमा अवरोध गरेको भन्दै सर्वोच्चले उनीहरुलाई विभागीय कारवाही गर्न सम्बन्धित कार्यालयलाई आदेश पनि दिएको छ । उनीहरुले कार्कीको मध्य बानेश्वरमा रहेको घरमा म्याद तामेलीको पत्र टाँस्न अवरोध गरेका थिए ।

कमेन्टहरु
Loading...