माघ तेस्रो साता पोखरामा राष्ट्रिय भलिवल प्रतियोगिता हुने

सागरा राज तिमिल्सिना
पोखरा २४ पुस/पोखरामा माघ तेस्रो साता महिला र पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघ १८ देखि २२ गतेसम्म सृजना आमन्त्रण महिला र पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने समितिले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

महिला र पुरुष दुबै विधामा ६ टिम सहभागी हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ, न्यू डायमण्ड र हेल्प नेपाल स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने पौडेलले जानकारी दिए ।

राष्ट्रिय भलिवल प्रतियोगिता
राष्ट्रिय भलिवल प्रतियोगिता

प्रतियोगिताको विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपैया मेडल, प्रमाणपत्र र ट्रफि पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । लिकम नक आउटको आधारमा खेलाइने खेलका अन्य विधाका उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाउने छन् ।

प्रतियोगितालाई सिर्जना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख ६५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । अन्य रकम प्रायोजक, ब्यानर, गेट टिकटबाट प्राप्त हुने लक्ष्य राखिएको छ । कार्यक्रममा म्याग्दी बेगखोला घर भई अमेरीका बस्दै आएका याम गर्वुजाले पश्चिमाञ्चल महिला भलिवल संघलाई पठाउनु भएको टिमसेट जर्सी हस्तान्तरण गरिएको थियो । गर्बुजाका तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पश्चिमाञ्चल महिला भलिवल टिमकी कप्तान मञ्जु गुरुङलाई जर्सी हस्तान्तरण गरे ।

सृजनाको ७ लाख

प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सृजना विकास केन्द्रबीच प्रतियोगितामा मुख्य प्रायोजन गर्नेबारे सम्झौता भएको हो ।

सम्झौता पत्रमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट समितिका अध्यक्ष खगराज पौडेल र सृजना विकास केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिवल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको बताउँदै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने बताए ।

सम्झौता अनुसार सिर्जना विकास केन्द्रले मुख्य प्रायोजक वापत आयोजकलाई ७ लाख रुपैया दिनेछ । आयोजकले प्रतियोगिताको प्रवेश टिकट वापत भएको आम्दानीको १० प्रतिशत द्धन्द पिडीत वालवालिकाको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जना विकास केन्द्रलाई दिने सम्झौतामा उल्लेख छ ।

कमेन्टहरु
Loading...