दशौं पोखरा पिस क्रिकेट कप माघ २२ गतेदेखि

पोखरा, २३ पुस /विकृति विसंगति विरुद्ध क्रियाशील पोखरा पिस क्लवले निरन्तर संचालन गर्दै आइरहेको क्रिकेट प्रतियोगिताको दशौं संस्करण माघ २२ गतेदेखि २९ गतेसम्म पोखरा रंगशालामा गर्ने क्लवद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । टि–ट्वान्टी स्वरुपमा खेलाइने प्रतियोगिताका विजेता टोलीले नगद ७० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता टोलीले नगद ३० हजार, मेडल्स र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुजन बरालले जानकारी दिए ।

सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक छक्का हान्ने खेलाडीलाई जनही ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई ट्रफीको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको दशौं पोखरा पिस क्रिकेट कप प्रचार प्रसार उपसमिति संयोजक राजेन्द्र प्रसाद अधिकारीले बताए । विगतका संस्करणहरुमा हाड टेनिस बलको माध्यमबाट खेलाइएको यो प्रतियोगिता यस संस्करणदेखि अन्तर्राष्ट्रिय स्तरकै स्वरुपमा खेलाइने उनले जानकारी दिए ।

खुल्ला प्रतियोगिता भएकाले कति टिमको सहभागिता रहने भन्ने निश्चित नभए पनि गण्डकी र धौलागिरी अञ्चलका विभिन्न जिल्लाहरु लगायत अन्य जिल्लाहरुबाट समेत टिम तथा राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने सम्भावना रहेको आयोजक क्लवका सचिव प्रताप आचार्यले जानकारी दिए । दशौं संस्करणकै विशेष महत्व राख्ने हुनाले खेलकुदसँग सम्बन्धित विभिन्न निकायहरुसँग समन्वय गर्दै अगाडि बढ्ने योजना रहेको क्लवका पूर्व अध्यक्ष तथा निर्णय उपसमिति संयोजक भोजराज बरालले बताए ।

दश वर्षको यात्रामा थकाइ नमारिकन यस अवस्थासम्म आइपुगेको पोखरा पिस क्लवले दशौं संस्करणको सफल संचालन पश्चात राष्ट्रिय स्तरको प्रतियोगिता संचालन तर्फ क्लवलाई अगाडि बढाउने योजना रहेको प्रतियोगिता मूल व्यवस्थापन समिति संयोजक दामोदर बरालले बताए । प्रतियोगितालाई भव्यरुपमा सफल पार्न विभिन्न विज्ञापनदाता, प्रायोजकहरु, दर्शक, टिम तथा खेलाडी, शुभचिन्तक, पत्रकार, विभिन्न प्रशासनिक तथा सुरक्षा निकायहरु सबैलाई आ–आफ्नो तह र तप्काबाट सहयोगका लागि आह्वान गर्ने समेत उनले बताए ।

कमेन्टहरु
Loading...