विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी देशभक्तले मनाए जन्मदिन

पोखरा, २ असार/अधिकांश युवामा जन्मदिन भड्किलो र खर्चिलोरुपमा मनाउने संस्कृति बढ्दै जाँदा पोखराका एक युवाले भने विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन मनाएका छन् । सम्पदा कला मन्दिर पोखराका अध्यक्षसमेत रहेका कलाकार एवं संचारकर्मी देशभक्तसिंह कुँवरले पोखरा–१४ चाउथेस्थित भयेरेश्वरी प्राविमा अध्ययनरत एक सय २७ जना छात्रछात्राहरुलाई कापी, कलम, विस्कुटलगायतका सामग्री वितरण गरेका हुन् ।

उनले विद्यालयका लागि पनि हाजिरीकापी, चक–डष्टर, मार्कर, फाइल प्रदान गरे । असार १ गते जन्मिएका कुँवरले अघिल्लो वर्ष पनि कास्कीको लाहाचोकस्थित जनजागरण प्राविमा पढ्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन मनाएका थिए । कार्यक्रमका आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादकसमेत रहेका स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले कुँवरलाई जन्मदिनको शुभकामना दिदै विद्यालयको भौतिक सुधार तथा स्तरोन्नतिका लागि सञ्चारकर्मीहरुले आफ्नो तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

उनले जन्मनुको सार्थकता भनेको समाजका लागि केही न केही योगदान गर्नु हो भन्दै जन्मदिन सबैजनाले यसरी नै मनाउनुपर्ने सुझाव दिए । हिमचुली एफएमका स्टेशन म्यानेजर दीलिप राईले कलिला बालबालिकाको मनोविज्ञान बुझ्नुपर्ने बताउँदै विपन्न वर्गका बालबालिकाहरुको शिक्षाका लागि केही न केही सहयोग गर्नुपर्ने बताए ।

भयेरेश्वरी प्रावि व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीतकार राजेन्द्र अधिकारी अपूर्णा, श्रीमती सुनिता अधिकारी, संचारकर्मी राजेश पराजुलीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बसुन्धरा पौडेलले गरेकी थिइन् । कार्यक्रममा सम्पदा कला मन्दिरका तर्फबाट अध्यक्ष कुँवरले प्रमुख अतिथि बास्तोलालाई सम्मानपत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...