पञ्चासे चिनाउने फोटो प्रदर्शनी

पोखरा, १६ पुस/पोखरा फोटोग्राफर संघ, पोखराको आयोजनामा शनिबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको परिसरमा सुरु प्रदर्शनीमा प्राकृतिक, जैविक, ऐतिहासिक एवं धार्मिक स्थल पञ्चासे चिनाउने फोटो प्रदर्शनीमा छन् ।

२ दिनसम्म चल्ने प्रदर्शनीमा ४० वटा फोटो प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक लक्ष्मीपति पौडेलले जानकारी दिए । फोटोले कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासे क्षेत्रको जैविक विविधता, दैनिक जनजीवन, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्रलगायतको चिनारी दिएका छन् ।

प्रदर्शनीको नेपाल पर्यटन पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले उद्घाटन गर्दै फोटो प्रदर्शनीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा दिने बताए । उनले बोर्डले पोखरा आसपासमा हुने मेला महोत्सवमा आवश्यक सहयोग गरे पनि त्यसबाट भने अपेक्षाकृत पर्यटन प्रवद्र्धन हुन नसकेको टिप्पणी गरे । उनले जुन क्षेत्रमा पनि राजनीतिक प्रभाव पर्ने भएकोले यसमा तत्काल सुधारको खाँचो औल्याए ।

पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्सन प्रजुले संघले यस्ता खालका कार्यक्रममा आवश्यक सहयोग गर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथमा हुने महोत्सवमा फोटो प्रदर्शनीको लागि निःशुल्क स्टल दिने घोषणा गरे । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रशस्त सम्भावना रहेको फोटोग्राफी अझै व्यावसायिक हुन नसकेको औल्याए ।

पर्यटन बोर्डको प्रवद्र्धनमा भएको कार्यक्रममा फोटो छनोट समिति संयोजक दुर्गाप्रसाद पौडेललगायत फोटोग्राफरलाई मायाको चिनो तथा प्रशंसापत्र वितरण गरिएको थियो । संघका अध्यक्ष तुलसीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका संरक्षक गणेश छवि, कार्यक्रम संयोजक लक्ष्मीपति पौडेल, फोटोग्राफर महिला समिति संयोजक इन्दिरा शर्माले पनि बोलेका थिए । संघका उपाध्यक्ष जनकराज तिवारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव परशुराम शर्माले गरेका थिए ।

‘नेपालको पर्यटन प्रवद्र्धनमा फोटोग्राफी’ भन्ने नाराका साथ संघको गत कात्तिक १९ र २० गते भएको पोखरादेखि पञ्चासे, चित्रेसम्मको फोटोग्राफी यात्राका क्रममा खिचिएका १ सय ५० फोटोमध्ये छनोटमा परेका ४० फोटो प्रदर्शनीमा राखिएका हुन् । यात्रामा सहभागी १९ मध्ये १५ जना फोटोग्राफरले खिचेको फोटो प्रदर्शनीमा छन् । समुद्री सतहदेखि २ हजार ५ सय १७ मिटरको उचाइमा पर्ने पञ्चासेमा बालाचतुदर्शीमा मेला लाग्छ । यहाँको आश्चर्यजनक पक्ष भनेको यहाँको तालमा चराले पात पतिगंर टिप्ने हुँदा ताल वर्षभरि सफा देखिने विश्वास छ ।

कमेन्टहरु
Loading...