विद्यालयलाई दाह्री ग्याङको सहयोग

पोखरा, १६ पुस/दाह्री पाल्ने र रुचाउने युवाहरुको फेसबुक समूह दाह्री ग्याङका पोखरा मेम्बरहरुले कास्कीको ग्रामिण भेकका विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ ।

कास्कीको पोखरा वडा नं. २३ स्थित निर्मलपोखरी पोख्रेलथोक स्थित रामरुद्रा आधारभूत विद्यालयमा पाँच थान ह्वाईट बोर्ड लगायत शैक्षिक सामाग्रीका साथै खेलकूद र आपतकालित अवस्थामा प्रयोग गर्न सकिने स्वास्थ्य सामाग्री प्रदान गरेको हो । समूहका पोखरा संयोजक शेखर गौतमका अनुसार विद्यालयलाई मार्कर, मसी, डस्टर, स्पाईकिङ, ब्याडमिन्टन, कक, फुटबल हस्तान्तरण गरिएको हो ।

संयोजक गौतमका साथै काठमाण्डौंबाट आएका समूहका एडमिन अभिषेक राज सिंह थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपराज पोखरेल र प्रधानाध्यापक गौतम गिरीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

सामाग्री प्राप्त गरेपछि खुशी जनाउँदै अध्यक्ष पोखरेलले युवाहरुको सहयोगले विद्यालयमा पठनपाठनमा सघाउ पुग्ने जनाए । प्रधानाध्यापक गिरीले गुणस्तरीय शिक्षाका लागि पूर्वाधारको आवश्यकता अपरिहार्य रहेकोले यो सहयोगले बालबालिकालाई पढ्ने वातावरण सिर्जना भएको उल्लेख गरे । संयोजक गौतमले सामाजिक रुपान्तरणका लागि सामाजिक सञ्जाल उपयोगी बनेको र सबै सहयोगदाताको साथले नै अभियान प्रभावकारी बनेको बताए ।

स्थापनाको छोटो समयमै समूहले यसअघि मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदान, ट्राफिक सचेतनामूलक कार्यक्रम लगायत आधा दर्जन बढि सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । १० महिनाअघि बनाईएको दाह्री ग्याङ समूहमा अहिलेसम्म ७८ हजार बढि सदस्य छन् । मुलुकका विभिन्न शहरमा युवाहरु आबद्ध भई स्थानीय स्तरमा दाह्री ग्याङको नामबाट सामाजिक गतिविधि गरिरहेका छन् ।

कमेन्टहरु
Loading...