पोखराको चरक मेमोरियल अस्पतालबाट पनि अब निःशुल्क डायलाइसिस सेवा पाईने

पोखरा, पुस १४/स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि निःशुल्क गरेको डायलाइसिस सेवा थप ११ अस्पताललाई प्रदान गर्न अनुमति दिएको छ । सेवाग्राहीको सहजताका लागि सरकारले पोखराको चरक मेमोरियल अस्पताल ,​ वीरेन्द्र सैनिक अस्पताल र अन्य ९ निजी अस्पताल सहित ११ वटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै मुलुकभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ ।

चरकबाट पनि अब निःशुल्क डायलाइसिस सेवा पाईने

अनुमति प्राप्त गर्नेमा पोखराको पृथ्वीचोकमा रहेको चरक मेमोरियल अस्पताल काठमाडौं उपत्यकाका वीरेन्द्र सैनिक अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल रहेका छन् भने रुपन्देहीको गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको चिकित्सा व्यवस्थापन महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्र, मिर्गौला केन्द्र र चार वटा अञ्चल अस्पतालसहित ३२ अस्पतालमा सरकारले निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ । डायलाइसिस गरे वापत सरकारले सो रकम त्यस्ता स्वास्थ्य संस्थालाई उपलब्ध गराउने व्यवस्था रहेको उपसचिव लामिछानेले बताए ।

उनले बाँकी सबै अञ्चल अस्पतालमा पनि सरकारले निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै दुईवटा डायलाइसिस मेसिन किनेर सेवा सुरु गर्न सरकारले प्रत्येक अञ्चल अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको जानकारी दिए ।यतिखेर सेती अञ्चल अस्पताल सहित केही अस्पतालमा सो सेवा सुरु भइसकेको स्वास्थ्यमन्त्री गगन थापाकाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए  ।

 

कमेन्टहरु
Loading...