गाउँ घुम्दै कांग्रेस-एमाले, पेरिसडाँडा घुम्दै एमाओवादी

१ असार, काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा नगर्दै कांग्रेस र एमालेका नेताहरु जिल्ला जिल्लामा परिचालित भैसकेका छन् । तर, एमाओवादीका नेताहरु भने पदीय प्रतिश्पर्धाका लागि पार्टी हेडक्वार्टर पेरिसडाँडा वरिपरि फन्को मार्न बाध्य छन् । चुनावको तयारीमा केन्द्रीय नेताहरु गाउँगाउँमा खटिनुपर्नेमा एमाओवादीभित्र अहिलेसम्म नेताहरुको जिम्मेवारी बाँडफाँड हुनै सकेको छैन । एमालेले भने देशभरका २ सय ४० वटै चुनाव क्षेत्रमा आफ्ना प्रतिनिधिहरु खटाएर बैठकको आयोजना गरिसकेको छ । नेपाली कांग्रेसले पनि जिल्ला जिल्लामा एक महिनासम्म प्रतिनिधिहरु पठाएर स्थानीय कार्यकर्तालाई परिचालन गरिसकेको छ ।

तर, एमाओवादीमा महाधिवेशनपछि न कुनै राज्य समितिको बैठक बसेको छ, न कुनै जिल्ला वा क्षेत्रको । महाधिवेशन सकिँदा पनि एमाओवादीभित्र ठूलो संगठनात्मक एवं वैचारिक अन्यौल कायमै छ । केन्द्रीय समितिलाई पूर्णता दिन डाकिएको बैठक असार १३ सम्मका लागि स्थगित भएपछि कार्यकर्तामा थप अन्यौल देखिएको छ ।

चुनावअघि केन्द्रीय समिति विस्तार नहुने संकेत

यसैवीच एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति विस्तार आगामी मंसिरपछिमात्रै हुने संकेत देखिएको छ । संविधानसभाको चुनावअघि समिति विस्तार गर्दा त्यसमा नपर्नेहरु असन्तुष्ट हुने र यसले निर्वाचनमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना देखिएपछि जारी केन्द्रीय समिति बैठक असार १३ गतेसम्मका लागि स्थगित गरिएको छ । निर्वाचनको मिति घोषणा भैसकेको अवस्थामा आगामी बैठकमा उमेद्वारहरुको छनौट, चुनाबी रणनीति निर्माण एवं घोषणापत्रमाथि छलफल गर्नुपर्ने भएकाले नेतृत्व चयनमा पार्टी नअल्मलिने स्रोतले बतायो । आगामी बैठकमा अमिक शेरचन र पोष्टबहादुर बोगटी नेतृत्वमा आयोगहरुको प्रतिवेदनमाथि छलफल गरिने बताइए पनि आन्तरिक भ्रष्टाचार र सम्पत्ति छानविनको मुद्दा अगाडि ल्याउँदा चुनावलाई असर पार्न सक्ने नेताहरुको अनुमान छ । यो अवस्थामा आन्तरिक विवादका रुपमा रहेको लडाकू भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमाथि पनि चुनावअघि छलफल नहुने स्रोतको दाबी छ ।

महाधिवेशन सकियो, लफडा सकिएन

एकीकृत नेकपा माओवादीले गत माघमा हेटौडामा २१ वर्षपछि पार्टीको महाधिवेशन आयोजना गरेको हो । तर, महाधिवेशनजस्तो उच्चस्तरीय जनवाद अभ्यास गर्ने निकायले पनि पार्टीको केन्द्रीय निकायलाई पूर्णता दिन नसक्दा महाधिवेशन सकिएको ४ महिना वितिसक्दा पनि पार्टीभित्र संगठनात्मक विवाद हल भएको छैन । हास्यास्पद त के देखिएको छ भने महाधिवेशन सुकिएलगत्तै संगठनको स्वरुप कस्तो बनाउने भन्ने महरा कार्यदल गठन गरी सोको प्रतिवेदनमाथि केन्द्रमा छलफल थालिएको छ । २१ वर्षपछि आयोजना गरिएको महाधिवेशनले पारित गरेको विधान एकातिर छ, महरा कार्यदलको प्रस्ताव अर्कातिर छ । नेता कार्यकर्ताहरुले ४ महिना बितिसक्दा पनि पार्टीको विधान पढ्न पाएका छैनन् ।

यस्तै पाराले पार्टी एमाओवादी शक्ति बन्ने

प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याउने बताइरहे पनि यस्तै पारा हुने हो भने सामान्य बहुमत पन नल्याउने र तेस्रो शक्तिमा खुम्चिन सक्ने गुनासो केही नेताहरुले गर्न थालेका छन् । गाउँ गाउँसम्म विवाद कायम रहने, गुटबन्दी समाधान नहुने, उमेद्वारी वितरणमा मारामार र अन्तरघात हुने अनि मधेसी दलरुसँग तालमेल नहुने हो भने आगामी चुनावमा एमाओवादी पार्टी तेस्रो दलका रुपमा खुम्चने खतरा रहेको एक एमाओवादी नेताले अनलाइनखबरसँग भने ।

टिकट बाँड्ने कमिटी

शुक्रबारको एमाओवादी बैठकले प्रचण्डको अध्यक्षतामा ६६ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । तर, यो कमिटीलाई एमाले र जिल्लाजिल्लामा खटाइएको छैन । कुनै कार्यक्षेत्र र अधिकार नतोकी बनाइएको यो कमिटी स्थानीय तहमा परिचालित हुने भन्दा पनि माथि बसेर टिकट बाँढ्न बनाइएको कमिटीजस्तो मात्रै देखिएको छ । तर, आगामी असार १३ मा पनि केन्द्रीय समितिले पूर्णता पाएन भने यही ६६ सदस्यीय कमिटीले निर्वाचन गराउनुपर्ने काध्यता एमाओवादीभित्र देखिन थालेको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/82256/#sthash.ABOXQX8s.dpuf

कमेन्टहरु
Loading...