रोट्र्याक्ट डिस्ट्रिक्ट सम्मेलन पोखरामा हुने

पोखरा, १० पुस/रोट्र्याक्ट नेपाल रोटा वर्ष २०१७—१८ को बोर्ड चयनका लागि नवौं सम्मेलन आउँदो २२ र २३ गते पोखरामा हुने भएको छ । रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलको व्यवस्थापनमा रोट्र्याक्ट डिस्ट्रिक नेपाल ३२९२ को नवौं रोट्र्याक्ट डिस्ट्रिक सम्मेलन सभागृहमा हुन लागेको हो । यसअघि आठौं सम्मेलन धरानमा भएको थियो ।

१०८ वटा रोट्र्याक्ट क्लबका प्रतिनिधिले सम्मेलनमा भाग लिने सम्मेलन व्यवस्थापनमा जुटेको क्लबले जनाएको छ । देशभरबाट १ हजारजना रोट्र्याक्ट सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलन व्यवस्थापक संस्था महिला समूह सहभागी एकमात्रै क्लब हो । ‘यसपालि पोखरामा सम्मेलन गर्न पाउँदा रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलले आफूलाई भाग्यमानी सम्झेको छ,’ सम्मेलन व्यवस्थापन संयोजक जेसिका तामाङले भनिन् ।

सम्मेलनमा विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि हुने जानकारी सम्मेलन व्यवस्थापक क्लब रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष सुजन गुरुङले बताइन् । युवा प्रतिबद्धताको थिममा हुने सम्मेलनमा महिला नेतृत्व, उद्यमशीलता, प्रकृति एवं वातावरण संरक्षणका विषयमा छलफल हुने जानकारी उनले दिइन् । ‘छलफलमा सहभागी हुन वरिष्ठ पत्रकार रवीन्द्र मिश्र लगायत अतिथिहरु आउँदै हुनुहुन्छ,’ उनले भनिन् ।

रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष नरबहादुर गुरुङले देशभरका युवाहरुलाई प्रकृति संरक्षण र उद्यमशीलताका लागि सम्मेलनले हौस्याउने विचार व्यक्त गरे । ‘त्यसका अलावा पोखराको मनोरम प्रकृतिसँग साक्षात्कार गराई यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान गर्नेछ,’ उनले भने । सम्मेलनको मुख्य प्रायोजन रोटरी क्लब अफ पोखरा फिस्टेलले गरेको सहप्रायोजन मेरी स्टोप्स नेपाल रहेको क्लबकी सचिव प्रतिभा केसीले बताइन् ।

कमेन्टहरु
Loading...