सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टेनिस पोखरामा शुरु, पहिलो दिन टिम इभेण्टमा प्रतिस्पर्धा

पोखरा, ९ पुष /सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल शनिबारदेखि पोखरामा शुरु भएको छ । सांसद विकास समितिका सभापति रबिन्द्र अधिकारीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै सभाषद् अधिकारीले पोखरामा टेनिस खेल आयोजना गरिएकोमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल टेनिस संघलाई पनि धन्यवाद ज्ञापन गरे ।

आगामी १३ औं साफ खेलकुदमा टेनिस पोखरामै गरिने कोशिष पनि भइरहेको उनले जनाए । राजनीति गर्नेहरुले खेलाडीहरुबाट अनुशासनको पाठ सिक्नुपर्ने भन्दै उनले खेलेपछि जित वा हार जे भएपनि खेलाडीले स्विकारे जस्तै राजनीति गर्नेहरुले पनि जित वा हारलाई स्विकार्न सक्नुपर्नेमा जोड दिए । उनले पोखरामा टेनिस खेलको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले पोखरामा पाँच वटा टेनिस कोर्ट बनिसकेकोमा खसि व्यक्त गरिन । अन्र्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न ६ वटा टेनिस कोर्टको आवश्यकता पर्ने बताउँदै  पोखराले अर्को टेनिस कोर्ट निर्माण गरे पोखरामा अन्र्तराष्ट्रिय प्रतियोगिता ल्याउने प्रतिवद्धता जाहेर गरिन् । सो अबसरमा खेलाडीको तर्फबाट पश्चिमाञ्चलका कुमार अधिकारीले तथा अफिसियलको तर्फबाट रेणु कोण्डा बज्राचार्यले सपथ ग्रहण गरेका थिए । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले स्वागत तथा कास्की जिल्ला टेनिस संघका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन दिन टिम इभेण्टका प्रतिस्पर्धाहरु भएका छन् । प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीको टिमले बाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ भने पुरुषतर्फ सशस्त्र प्रहरी बलले मध्य पश्चिमाञ्चललाई ३–० ले पराजित गरेर सेमिमा स्थान बनायो । सशस्त्र प्रहरिको तर्फबाट श्रीराम मगरले चन्द्रबहादुर थापालाई ७–५, ६–४ ले, सन्तोष खत्रिले प्रदिप शाहलाई ६–२,६–२ ले तथा सन्तोष खत्रि र श्रीराम मगरको जोडीले महेन्द्र प्रकाश गिरी र चन्द्रबहादुर थापाको जोडीलाई ६–३, ६–१ ले पराजित ग¥यो ।

पुरुषतर्फनै भएको टिम इभेण्टमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० ले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । नेपाल प्रहरीको तर्फबाट प्रणव खनालले अदित सुवेदीलाई ६–१,६–१ ले, कमल भण्डारीले अन्जन थिङलाई ६–०,६–०ले तथा रेञ्जन लामा र राजु श्रेष्ठको जोडिले सहर्ष बहादुर चन्द र अदित सुवेदीको जोडिलाई ६–२, ६–३ ले पराजित गरे । पुरुषतर्फ पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पश्चिमाञ्चलका निरज थापाले निरज विष्टलाई ६–०, ६–० ले, प्रदिप खड्काले सम्मेलन योगीलाई ६–०, ६–० ले तथा निरज थापा र प्रदिप खड्काको जोडीले निरज विष्ट र सम्मेलन योगीको जोडीलाई ६–०, ६–० कै सहज सेटमा पराजित गरेको थियो ।

महिलातर्फ एपीएफले मध्यमाञ्चललाई ३–० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको छ । एपीएफका विभुती कार्कीले स्नेहा यादवलाई ६–०, ६–०ले भगवति बिवले रायना शाहलाई ६–२, ६–२ ले तथा विभुती कार्की र बिजिसा श्रेष्ठको जोडीले सर्भानी स्नेहा यादवलाई ६–०, ६–१ पराजित गरे । त्यस्तै पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पूर्वाञ्चलका सलोनी तामाङ्गले प्रिति बराललाई ७–५, ६–२ ले, प्रेरणा कोइरालाले गंगा सर्मालाई ६–२, ६–३ ले तथा प्रेरणा र सलोनीको जोडीले अनु रोक्का र सुभांगी लक्ष्मी शाहको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।

कमेन्टहरु
Loading...