पोखरामा होटल रानीवन आर्केड २० करोडको लागनीमा सञ्चालनमा

सुरेन्द्र पौडेल
पोखरा, ९ पुष /पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित गौरीघाटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी हरि भुजेलले होटल रानीवन आर्केड सञ्चालनमा ल्याएका हुन् । करिब ३ वर्ष अगाडि निर्माण सुरु गरिएको होटल २ महिना अगाडिबाट सञ्चालनमा आएको हो । अनौपचारिक रुपमा सञ्चालनमा आएको रिसोर्टको शुक्रबार ग्राण्ड ओपनिङ गरिने सञ्चालक भुजेलले जानकारी दिए ।

भूजेलले होटल निर्माणमा जग्गाबाहेक करिब २० करोड रुपैयाँ लगानी गरेका छन् । होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् । २४ वटा सुपर, २० वटा डिलक्स, १४ वटा सुपर डिलक्स र २ वटा जुनियर सुइट कोठा रहेको उनले जानकारी दिए । प्राय सबै कोठाबाट पोखराको मुख्य आकर्षण मानिने फेवा ताल, शान्ति स्तुप, रानीवन लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ । ‘प्राय कोठाबाट पोखराबाट देखिने हिमालयहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ,’ भुजेलले भने, ‘पूर्ण पर्यटकमैत्री होटल सञ्चालनमा ल्याउन सफल भएका छौं ।’

पोखरामा होटल रानीवन आर्केड २० करोडको लागनीमा सञ्चालनमा
पोखरामा होटल रानीवन आर्केड २० करोडको लागनीमा सञ्चालनमा

पर्याप्त पार्किङको सुविधा रहेको होटलको चौथो तलामा रुफटप गार्डेन बार छ । रुफटप गार्डेन बारलाई ‘माया गार्डेन’बाट ब्राण्डिङ गरिएको छ । होटलमा १ सय जना क्षमताको सभाहल छ । सभाहललाई ‘जमुना हल’ नामाकरण गरिएको भुजेलले जानकारी दिए । ‘होटलको माथिल्लो तलाबाट सम्पूर्ण पोखरालाई स्पष्टसँग ३ सय ६० डिग्रीको कोणबाट अवलोकन गर्न सकिन्छ,’ भुजेलले भने । पर्यटकको सुविधालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरिएको छ । होटल अपाङ्ग र वृद्धावृद्धामैत्री रहेको भुजेलले बताए ।

होटलका प्रत्येक कोठामा मिनीबारको सुविधा रहेको भुजेलले जानकारी दिए । ‘प्रत्येक कोठामा एसीको सुविधा छ,’ उनले भने, ‘खाना तथा खाजाका लागि कोठामै सेवा उपलब्ध छ । चौबिसै घन्टा पर्यटकको सेवामा हाम्रा कर्मचारी खनिएका हुन्छन् ।’ त्रिस्टार होटल सरहको सुविधा उपलब्ध रहेको भुजेलले जानकारी दिए । होटलको मुख्य आकर्षणका रुपमा प्रवेशद्वार नजिकै प्राकृतिक पहाडको झल्को दिने संरचना तयार पारिएको छ । ‘पहाडको संरचनाबाट नियमित रुपमा झरना जसरी झर्ने पानी यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ,’ भुजेलले भने । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । ‘पूर्ण पारिवारिक वातावरणमा होटल सञ्चालन गरिरहेका छौं,’ भुजेलले भने, ‘पर्यटकको स्वागत सत्कार तथा सुविधामा कुनै कमी हुन दिँदैनौं ।’

पोखरामा होटल रानीवन आर्केड २० करोडको लागनीमा सञ्चालनमा
पोखरामा होटल रानीवन आर्केड २० करोडको लागनीमा सञ्चालनमा

स्वदेशी पर्यटकलाई लक्षित गरी चाडपर्वका अवसरमा विशेष छुटमा सेवा उपलब्ध गराइने भुजेलले जानकारी दिए । ‘आउँदै गरेको अंग्रेजी नयाँ वर्षमा पनि विभिन्न प्याकेजहरुमा छुटसहित सेवा उपलब्ध गराउँछौं,’ उनले भने । होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइडसिन व्यवस्था पनि मिलाइएको छ । ‘बिमानस्थल र बसपार्कसम्म ल्याउने र लैजाने सुविधा पनि उपलब्ध छ,’ उनले भने । होलटमा ५३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भूजेलले होटलसँगै रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । कुइन फरेष्ट रेस्टो एण्ड बारबाट होटलमा बस्ने पर्यटक र अन्य पर्यटक तथा पदयात्रीका लागि खाना तथा नास्ताको सुविधा उपलब्ध छ । रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । ‘पर्यटकको चाहना अनुसारको खाना तथा खाजा खुवाउँछौं,’ भुजेलले भने । रेष्टुरेन्टमा एकै पटकमा एक सय भन्दा बढी पर्यटकलाई सुविधा उपलब्ध गराउन सकिने भुजेलले जानकारी दिए । मनोरञ्जनको लागि प्रत्येक साँझ लाइभ म्युजिक व्यवस्था छ ।

भुजेलले होटल र रेष्टुरेन्टसँगै ट्राभल एण्ड टे«किङ कम्पनी पनि सञ्चालन गरिहेका छन् । ट्राभलबाट पर्यटकलाई पोखरा साइडसिन, स्वदेशी र विदेशी हवाइ तथा बस टिकटको सुविधा उपलब्ध छ । ट्रेकिङ कम्पनीमार्फत नेपालका विभिन्न ट्रेकिङ रुटहरुमा पदयात्रा गराइन्छ । ‘हामी कहाँ आउने पर्यटकले सम्पूर्ण सेवा तथा सुविधा एकैठाउँबाट पाउँछन्,’ भुजेलले भने । बुबा भीमसेन (बुद्धराज) भुजेलले करिब ४० वर्ष अगाडि सञ्चालन गरेको रेष्टुरेन्टलाई अहिले परिमार्जनसहित उनले सञ्चालनमा ल्याएका हुन् । सानै उमेरदेखि पर्यटन व्यवसायसँग घुलमिल भएका भुजेल उच्च शिक्षा अध्ययनसँगसँगै पूर्ण रुपमा पर्यटन व्यवसायमा संलग्न छन् ।

३४ वर्षीय युवा भुजेलले पर्यटन व्यवसायमा अथाह सम्भावना रहेको बताउँछन् । ‘पर्यटकलाई नयाँपनको अनुभूति हुने गरी सेवा उपलब्ध गराउन म सधैं तल्लिन छु,’ उनले भने । व्यवसाय सञ्चालनमा भाइहरु लब भुजेल र कुश भुजेलको पनि उनलाई साथ छ । आगामी दिनमा समय सापेक्ष रुपमा लगानी बढाउँदै अगाडि बढ्ने भुजेलको सोच छ । ‘पोखरा तथा नेपालका अन्य पर्यटकीय गन्तव्यहरुमा होटल विस्तार गर्ने मेरो योजना छ,’ उनले भने ।

कमेन्टहरु
Loading...