पोखरा, २९ मंसिर /पुर्वाञ्चलमा आयोजनाहुने सातौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद आफ्नो तयारीमा जुटीरहेको बेला पोखरेली लन टेनिसका पदाधिकारी र सदस्य भने लन टेनिसको खेल कोर्ट निर्माण गर्न तल्लिन रहेका छन् ।
सातौ राष्ट्रिय खेलकुद अन्तर्गत अधिकांश खेलहरु पुर्वाञ्चलमा आयोजना हुने भए पनि पश्चिमाञ्चलको केन्द्र पोखराले पनि एउटा खेल आयोजना गर्ने जिम्मेवारी पाउने भएको हो । सातौ खेलकुदको आयोजक राष्ट्रिय खेलकुद परिषदले पोखरामा लन टेनिसको आयोजना गर्ने भए पछि लन टेनिसका खेलाडी सहित सवैमा उत्साह छाएको छ ।
पोखरा रंगशाला भित्र रहेको टेनिसको मैदान भित्र यति बेला पाँचौ नम्वरको कोर्ट तयार हुने अवस्थामा रहेको कास्की जिल्ला लन टेनिस संघका सदस्य हरी सिग्देलले बताए । करिव १० लाख ५० हजार को लागतमा तयार हुन लागेको कोर्ट अव अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बिनोद कायस्थले वताए ।
अहिले सम्म परिषद वा कतै बाट पनि अर्थिक सहयोग प्राप्त नभए पनि कोर्ट तयारी चरणमा रहेको सिग्देलको भनाई थियो । “हामीले आम खेलप्रेमी पोखरेलीहरुलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागि समेत आह्वान गर्ने छौं” अध्यक्ष कायस्थले भने –“यो वृहद कार्यक्रमको सफल बनाउन सवैको सहयोग आवश्यक छ ।”
पुष ८ गते बाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनौटका सम्पुर्ण कार्यक्रम सम्पन्न भइसकेको छ । लन टेनिसका लागि पोखरामा ८० जनाले प्रतिष्पर्धा गर्नेछन । जसमा ४० जना महिला खेलाडी रहनेछन । प्रत्येक विकास क्षेत्र बाट १० जना खेलाडीको सहभागिता रहने भएको छ जसमा ५ जना महिला रहने छन भने तिन विभागिय टिम बाट समेत १०–१० जना खेलाडीहरुको सहभागिता रहनेछ ।