मुक्तक विकास र उत्थानमा मिडियाको भूमिका सराहनिय

पोखरा, २५ मंसिर /मुक्तक मञ्च पोखराले शनिबार मुक्तक र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचनको श्रृङ्खला सञ्चालन गर्दै आएकोे मुक्तक मञ्चले शनिबार नियमित मुक्तक वाचनसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ‘मुक्तक र मिडिया’ विषयक कार्यपत्र प्रस्तुत गर्दै मञ्चका पूर्व अध्यक्ष सञ्जिव पौडेलले पोखरेली मुक्तक र मिडियाको सम्वन्ध सुधारोन्मुख रहेको उल्लेख गरे । सन्तुष्ट भइहाल्ने ठाउँ नभएपनि पोखरेली मिडियाले यहाँको मुक्तक विकास र उत्थानमा खेलेको भूमिका सराहनिय रहेको उनको धारणा थियो । पौडेलले केही मिडियाहरुले गैरमुक्तकलाई समेत मुक्तक भनि प्रसारित÷प्रकाशित गर्ने गरेको पाइएको बताउँदै त्यसतर्फ सचेत हुन पोखरेली मिडियाकर्मीलाई अनुरोध गरे ।

कार्यपत्रमाथि छापा संचार माध्यमबाट पत्रकार कृष्ण वास्तोला तथा विद्युतीय सञ्चार माध्यमका तर्फबाट मन क्षत्रीले टिप्पणी राखेका थिए । टिप्पणीका क्रममा बास्तोलाले मुक्तक प्रकाशनका लागि मुक्तककार स्वयं संवेदनशिल नभएको एवम् पत्रपत्रिकाहरुमा साहित्यिक रचनाको बक्स खाली हुने गरेको बताए । पछिल्लो क्रममा साहित्यकारहरु राजधानी केन्द्रित भइदिनालेपनि स्थानिय स्तरका पत्रपत्रिकाहरुमा स्तरीय रचना आउन छाडेको उनको गुनासो थियो ।

विद्युतीय सञ्चार माध्यमका तर्फबाट टिप्पणी गरेका मन क्षेत्रीले पोखरेली मुक्तकको गरिमा बुझ्ने र बुझाउने कार्यक्रम सञ्चालकहरुको अभावका कारण पोखराका धेरैजसो एफएम रेडियोहरुमा मुक्तकका कार्यक्रमहरु सञ्चालित नभएको बताए । विधागत विकासका निमित्त मुक्तककारहरु स्वयं पहिलो जिम्मेवार हुनुपर्ने बताउँदै उनले पोखरेली मिडियामा मुक्तकले कम स्थान पाउनुमा दुवैपक्ष उत्तिकै जिम्मेवार रहेको धारणा राखे ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मुक्तककारहरु स्वयं आँफैमा ब्राण्ड बनेको अवस्थामा मिडियाहरुको खोजी बन्न सक्ने बताए । स्तरीय मुक्तककारहरु जहिलेपनि मिडियाको आँखामा पर्ने र जनमानसमा समेत सोही अनुसारको माग हुने उनको धारणा थियो ।  कार्यक्रममा अमृत सुवेदी, डा.बसन्त गौतम, मिर्मिसा, कृष्ण देबकोटा, फडिन्द्र अधिकारी लगायतले कार्यपत्रमाथी आ–आफ्ना धारणा राखेका थिए ।  कार्यक्रममा करिब २ दर्जन मुक्तककारहरुले आ–आफ्नो मुक्तक बाचन गरेका थिए ।

कमेन्टहरु
Loading...