कक्षा १० को परीक्षा चैत ३ गतेदेखी

फाइल तस्विर 

भक्तपुर, २५ मंसिर/परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ ।  विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ । आजको गोरखरापत्र दैनिकमा खबर छ ।

परीक्षा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले पहिलो दिन चैत ३ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।  त्यस्तै, चैत ४ गते अनिवार्य नेपाली विषय, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते सामाजिक शिक्षा, चैत ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन हुनेछ ।  पनिकाका अनुसार चैत १० गते ऐच्छिक प्रथम र चैत ११ गते ऐच्छिक द्वितीय अन्तर्गतका विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिकतर्फ भने थप तीन दिन अर्थात् चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।  गत २०७२ सालमा चैत १८ गतेबाट एसएलसी परीक्षा सञ्चालन भएको थियो ।  उहाँले सामाजिक सञ्जालमा गत वर्षकै परीक्षा तालिका राखेर केही व्यक्तिले भ्रम सिर्जना गर्न खोजेको बताउँदै त्यस्ता अनधिकृत सूचना तथा जानकारीका पछाडि नलाग्ने विद्यार्थी, अभिभावक एवं शिक्षकसमक्ष आग्रह गरिएको बताउनुभयो ।

कमेन्टहरु
Loading...