जाडोमा न्यानोभित्र गुटमुटिँदा चोरले बिताउला

काठमाडौँ, २५ मंसिर/अहिले चिसो बढ्यो, तर अपराधी समूहका लागि चिसो होइन हिउँद भने तातो हुने गरेको छ ।  विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको हो ।  पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ ।  महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गर्मीको मौसममा दिउँसो र चिसोमा राति चोरीका घटना बढी हुने गर्छन् ।  आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् ।

महाशाखा चोरी शाखा प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बस्नेत भन्नुहुन्छ, सर्वसाधारणको कमजोरी कारण चिसोमा चोरी बढी हुन्छ ।  चिसोमा न्यानोभित्र गुटमुटिन हतार गर्ने भएकाले झ्यालढोका राम्रोसँग नलगाउँदा यस्तो समस्या आउने गरेको हो । त्यस्तै, घर, फल्याट तथा कोठामा भन्दा पसल, सटर र कोही नभएको एकान्तस्थलहरूमा चोरी बढी हुने गर्छ, महाशाखाका प्रहरी नायव उपरीक्षक बस्नेतले भन्नुभयो, यसका लागि सर्वसाधारण नै सचेत हुन जरुरी छ ।  राति सुत्दा होस् वा बिहान बाहिर निस्कँदा घरको झ्यालढोका राम्रोसँग बन्द गर्नुपर्छ ।

चिसोमा सुन तथा चाँदीका गरगहना तथा नगद बढी चोरी हुने गरेको छ ।  यो बेला भारतको बिहारका विभिन्न जिल्लाबाट समेत सङ्गठित रूपमा चोरहरू काठमाडौँ उपत्यकामा आउने गर्छन् ।  चोरी घटनाका अनुसन्धान अधिकृत केदार तिमिल्सेना भन्नुहुन्छ, चोरी गरेपछि अपराधीहरू एकरात पनि राजधानी बस्दैनन् ।

देशभित्रका चोरहरू गाउँमा लुक्छन्, भारतबाट आएकाहरू मकवानपुर हेटौँडाको बाटो हँुदै पर्साको वीरगन्ज नाकाबाट भारत छिर्छन् ।  विहारको घोडासैन, मोतिहारी, फूलबारी, महाराजगन्ज लगायतका जिल्लाबाट आठ÷दश जनाको समूह बनाएर नै सुन चोर्न नेपाल आउने गरेको महाशाखाले जनाएको छ ।

यसरी, नेपाल आउँदा उनीहरूले दुब्लो, पातलो र कलिलो उमेरका बालकलाई आफूसँगै ल्याउने गर्छन् ।  अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक तिमिल्सेनाले गत वर्ष न्युरोडस्थित एक सुन पसलमा सटर फोडेर चोरी भएको घटना स्मरण गराउँदैे ठूलाहरूले रडले सटर हल्का माथि उठाउने र दुब्लो, पातलो र बालकलाई चोर्न भित्र छिराउने गरेको जानकारी दिनुभयो ।  यस्तो समूहले चोरी गर्नेबित्तिकै उपत्यका छोड्ने गरेको पाइन्छ ।

अपराध महाशाखाले यस्तै समूहले विहारबाट घुमघामका लागि भन्दै काठमाडौँ ल्याइएको दुईवटा चोरीका गाडी पक्राउ गरेको छ ।  टोयाटाको फर्छुनेट जीप र हुन्डाइको आई–२० नामका दुई गाडी प्रहरीले यसअघि पक्राउ गरिसकेको छ ।  बुधबार पनि काठमाडौँबाट वीरगन्ज जाँदै गरेको डब्लुबी ४३०८३२ नम्बरको गाडी हेटौँडामा चेकजाँच गर्दा ६० तोला अवैध सुन बरामद भएको छ ।  उक्त अवैध सुनसहित भारत कलकत्ता घाटल पश्चिम वेदनापुरका २६ वर्षीय ओमित समान्त पक्राउ परेका छन् ।  त्यसअघि चोरीको गाडीसहित वीरगन्जमा बसोवास गर्दै आएका भारतीय नागरिक निजामुद्धिन शेख र नेपाली नागरिक काशी गुरुङ पक्राउ परेका थिए ।

कमेन्टहरु
Loading...