पोखरा, १८ मंसिर/बृहत्तर पोखरा सफाई अभियान अन्तर्गत २७ औं श्रृखला पोखरा उपमहानगरपालिका ५ मदनमार्ग हुँदै शान्तिनगर चोक, र जिरो किलोमिटरसम्मको फेवा मार्गको सफाई अभियान शनिबार सम्पन्न भएको छ । अभियानमा झन्डै ३ सय ५० जनाको सक्रीय सहभागिता रहेको सफाई अभियान्ता सुनिल पाण्डेले जानकारी दिए ।
‘राष्ट्र निर्माणमा एक घण्टाको स्वयमसेवा’ भन्ने नाराका साथ अघिल्ला कार्यक्रम जस्तै सामुहिक राष्ट्रिय गानबाट सुरु भएको थियो । कार्यक्रममा कालिका गणका सहायक बाहिनीपति कृष्णभक्त बज्राचार्यले सहभागीलाई प्राकृतिक सम्पदाहरुको संरक्षण एवं पोखराको सौन्दर्यता कायम राख्ने प्रतिवद्धा बाचन गराएका थिए । त्यस्तै १६ दिने महिला हिंसा विरुद्धको अभियान सन्दर्भमा नागरिक निगरानी समूह पोखराका संयोजक अन्जु केसीद्धारा महिला हिंसा विरुद्धको प्रतिवद्धता समेत उक्त अवसरमा गराइएको थियो ।
सफाई अभियानको २७ औ सृंखला सफल पार्न सल्यानी समिति कास्कीबाट १ सय जोर ग्लोव, ५० थान माक्स, धारापानी टोल विकास संस्था ख बाट १ सय जोर ग्लोव र त्यतिनै माक्स, पोखरा उपमहानगरका बरिष्ठ अधिकृत ओमराज पौडेललाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी वडा नं. ५ आमा महिला समूहका तर्फबाट कालिका थापाले ५ कार्टुन पिउने पानी प्रदान गरेकी थिइन् ।
अभियान सफल पार्न वडा नं. ५मा रहेका ३ विद्यालयहरु बाराही मावि, धर्मस्थली आधारभूत विद्यालय र वीरेन्द्र मेमोरियल बोर्डिङ स्कूलका भाइबहिनी तथा बालक्लव र बाल सञ्जालका पदाधिकारीहरु समावेश भएको जानकारी बाल क्लवका अध्यक्ष मौसम तिमिल्सिनाले गराए ।
सूर्या चन्द्र विकास समाज मालेपान, अभियान युवा क्लव मालेपाटन, मालेपाटन युनाइटेड क्लव, आमा तथा दिदिबहिनी समूह वडा नं. ७ टोल विकास संस्था वडा नं. ६, बैदाम प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका जवान तथा अधिकृतहरुको समेत संस्थागत सहभागिता रहेको थियो । एक घण्टे उक्त सफाई कार्यक्रममा झन्डै ७ टन फोहोरमैला संकलन भएको पोखरा उपमहानगरका सफाई शाखा प्रमुख चुडामणि तिवारीले जानकारी दिए ।
सफाइसंगै प्लास्टिक काने तथा कप प्रयोग अनुगमन टोल विकास समन्वय समिति अध्यक्ष उज्वल खत्रीको अध्यक्षतामा पाखरा उपमहानगर निरिक्षण महासाखा प्रमुख बसन्त चालिसे सहितको टोलीले झन्डै ३५ केजी प्लास्टीक झोला र कप जफत गरिएको जानकारी दिए । सफाई कार्यक्रमको समापन वडा सचिव भगवती भण्डारीले गरेकी थिइन भने सफाई अभियानको अगुवाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल र अभियान्ता धनन्जय पौडेलले गरवेका थिए ।