शैक्षिक सत्रको मध्यमा शुल्क वृद्धि अनेरास्ववियु आन्दोलनमा

पोखरा, १८ मंसिर /अनेरास्ववियु त्रिभुवन आदर्श बहुमुखी क्याम्पस कमिटी, स्याङ्गजाले शुक्रबार क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राखेको छ । संगठनका केन्द्रीय सदस्य रिता ढकालको नेतृत्वमा रहेको विद्यार्थीहरुको टोलीले क्याम्पस प्रमुखलाई भेटेर ६ बुँदे मागपत्र बुझाएको हो ।

कलेज प्रशासनले विद्यार्थीहरुलाई कुनै सेवा सुविधा थप नगरी शुल्क वृद्धि गर्ने तर्फ मात्र ध्यान केन्द्रीत गरेकोले आन्दोलनमा उत्रनु परेको ढकालले बताइन् । ढकालका अनुसार कलेज प्रशासनले शैक्षिक सत्रको मध्यमा आएर ६० प्रतिशत शुल्क बढाएको र सो शुल्क शैक्षिक सत्रको शुरुदेखि नै लागु गर्न खोजेकाले समस्या भएको हो ।

शुल्क वृद्धि लगायत अनेरास्ववियुले विद्यार्थीको चाप अनुसार पुस्तकालयमा प्रर्याप्त पुस्तकहरु उपलब्ध गराउनुपर्ने, महायज्ञबाट संकलित रकमको सम्पुर्ण विवरण आम विद्यार्थी तथा सरोकारवालाहरुलाइ जानकारी गराउनुपर्ने, क्याम्पसमा पुर्णकालिन तथा अल्पकालिन कर्मचारी र प्राध्यापकहरुको सेवा सुविधा उपलब्ध गराउनुपर्ने, विषय प्राध्यापकहरुलाई पाठ्यपुस्तकको व्यवस्था हुनुपर्ने लगायतका मागहरु पनि राखेका छन् ।

मागपत्रको हालसम्म कुनै सुनुवाइ नभएको र आइतबारसम्म पनि मागहरु पुरा नभए संगठन कडा आन्दोलनमा उत्रने चेतावनी समेत संगठनले दिएको छ । जिल्लाको सदरमुकाम स्याङ्गजा बजारमा रहेको उक्त क्याम्पस जिल्लाको सबैभन्दा पुरानो मध्यको क्याम्पस मानिन्छ ।

कमेन्टहरु
Loading...