पोखरा, ३० जेठ/नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले आफ्नो पहिचान सहितको उत्पादनले मात्र देशको विकास हुने बताएका छन् । उनले देशमा ठूला उद्योगको स्थापनाभन्दा पनि स्थानीय उत्पादनको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजार खोज्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघले बिहीबार पोखरा उद्योग बाणिज्य संघको सहकार्य तथा सहयोगी संस्थाहरु इन्टरनेसनल टेक्निकल कर्पोरेसन, इन्टरनेसनल टे«ेड सेन्टर, पिटीबी एवं जिआईजेडको सहयोगमा पोखरामा नै आयोजना गरेको निर्यातयोग्य बस्तुको गुणस्तर ब्यवस्थापन विषयक दुई दिने कार्यशालाको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् । ‘अमूर्त सम्भावनाको कुरा गरेर केही हुँदैन, उनले भने,‘अब चर्चामा आउनेभन्दा पनि आफ्नो पहिचानसहितका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नै पर्छ ।
उनले नेपाली उत्पादनहरु निर्यात गर्ने ठूलो संभावना भए पनि प्याकेजिङ र बजारीकरणबारे जानकारी नभएकोले समस्या उत्पन्न भएको जिकिर गरे । ’चीन र भारतजस्ता ठूला अर्थतन्त्रकोबीचमा रहनु नेपालको लागि अभिषाप नभई बरदान हो भन्दै उनले पूर्वाधार विकास, कृषिको आधुनिकीकरण र बजारीकरण तथा सेवा उद्योगमा विशिष्टिकणको आवश्यकता औंल्याए । एक अर्को प्रसंगमा उनले नेपाल उद्योग बाणिज्य महासंघ खुल्ला अर्थतन्त्रको मूल्य र मान्यताबाट एक इञ्च पनि पछि नहड्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यशालाको उद्घाटन कार्यक्रममा महासंघका गुणस्तर तथा उत्पादकत्व समितिका सभापति अजय प्रधानाङ्गले महासंघले कास्कीसहित चितवन र बुटबललाई कृषि उत्पादनको केन्द्र बनाउने उद्देश्य लिएको जानकारी दिए । उनले नेपालको कृषि उत्पादन,पश्मिना, तयारी पोशाक लगायतका उत्पादनहरुको विश्व बजारमा ठूलै माग भएकोले गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले कास्की तथा समग्र पश्चिमाञ्चल विकास क्षेत्र कृषिको लागि उर्वर भूमि भएको जानकारी दिँदै यहाँका उत्पादनहरुलाई गुणस्तरीय बनाउन सके त्यसले अन्तर्राष्ट्रिय बजार पाउने विश्वास व्यक्त गरे ।
पोखरामै उत्पादित केही बस्तुहरुले राम्रो अन्तर्राष्ट्रिय बजार लिएको बताउँदै उनले यो कार्यशालाले यहाँका अन्य उत्पादनहरु पनि गुणस्तरीय र प्रतिष्पर्धी हुने धारणा व्यक्त गरे । पोखरा उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्यका अनुसार निर्यातयोग्य बस्तुको गुणस्तर कायम गराउने उदेश्यले आयोजित कार्यशालामा कास्की र देशका अन्य भागबाट गरी २५ जनाको सहभागिता रहेको छ ।