पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन

पोखरा, १७ मंसिर/सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधनमा रहेका प्रावधानहरुको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विहीबारदेखि संसद बैठक अवरुद्ध गरेको छ । उसका युवा र विद्यार्थी संगठनले राजधानी सहित देशभर विरोध प्रदर्शन सुरु गरेका छन् ।

अनेरास्ववियू कास्की र पृथ्वीनारायण क्याम्पस एकाईले विहीबार बिहान क्याम्पस गेट, बगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । क्याम्पस प्राङ्गणबाट कालो ब्यानर बोकेर नाराजुलुस सहिते क्याम्पस अगाडि सडकमा पुगेका विद्यार्थीहरुले पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहनपछि आयोजित कोणसभामा बोल्दै सचिवालय सदस्य एवं गण्डकी अञ्चल ईञ्चार्ज सरीता पुरीले अनेरास्ववियूले राष्ट्रहित विपरित हुने जुनै कदमको विरोध गर्ने बताईन् । ‘यो काम एमाले सरकारबाट भएको भएपनि हामी यसरी गरी विरोधमा उत्रने थियौं ।’ उनले भनिन्– ‘मधेशी जनताको समेत मान होईन । ठाउँठाउँमा आगो बलेको छ । देश सिध्याउने षड्यन्त्र कुनै हालमा सफल हुन दिनेछैनौं ।’

सरकारले संघीयता र संविधान विपरितको संशोधन अगाडि बढाएको भन्दै संविधान विपरितका काम गर्ने प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नरहेकोले यो कार्यक्रम गर्नुपरेको अनेरास्ववियू भूगोल जिल्ला कमिटि अध्यक्ष शेखर गौतमले बताए । त्रिवि जिल्ला कमिटि अध्यक्ष विवेक देवकोटाले संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै झनै चर्काउने उल्लेख गरे ।

पिएन क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीले तराई र पहाडका जिल्लालाई अलग गराएर दुईखाले राष्ट्रियता वकालत गर्न खोजेको र यो गम्भीर विषय भएकाले सबै नेपाली जनता अहिले जाग्नुपर्ने बताए । अनेरास्ववियूले बुधबार पनि विरोध प्रदर्शन गरिसकेको छ ।

यस्तै, युवा संघ कास्की र अनेरास्ववियूले दिउँसो पृथ्वीचोक परिक्रमा गर्दै पुनः सभागृहचोक पुगी विरोध सभा आयोजना गरेको छ । कोणसभामा बोल्दै युवा संघका केन्द्रिय सदस्य पूर्ण लामाले संविधान संशोधन भारतको ईशारामा संसदमा दर्ता गरिएको र यो प्रस्ताव खतरनाक रहेको बताए । उनले यस विरुद्ध जनमत बढ्दै गएकोले सरकारले फिर्ता लिने विश्वास व्यक्त गरे ।

अनेरास्ववियूका केन्द्रिय सदस्य आर्शिवाद सुवेदीले कम्युनिष्ट नेता भन्ने प्रचण्डले जनताको भावना विपरित मुलुक नै सिध्याउने खेलमा लागेको भन्दै अब जनता होशियार हुनुपर्ने बेला आएको चर्चा गरे ।

यसैबीच, नेकपा एमालेले जिल्ला सदरमुकाममा शुक्रबारदेखि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो साढे १ बजे पोखरामा विरोध प्रदर्शन गरिने नेकपा एमाले कास्कीले जनाएको छ । यस्तै, अनेरास्ववियू जनप्रिय क्याम्पस एकाई समितिले पनि शुक्रबार विहान क्याम्पस गेटमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जानकारी दिएको छ ।

 

कमेन्टहरु
Loading...