सृजना विकास केन्द्रको रक्तदानमा ५५ युनिट संकलन, थापालाई सम्मान

पोखरा, १६ मंसिर/सृजना विकास केन्द्र, सिमलचौर पोखराको आयोजनामा बुधबार खुल्ला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।  उक्त कार्यक्रममा ५० औं पटक रक्तदान गरेका संस्थाका प्रथम उपाध्यक्ष कृष्ण थापालाई मायाको चिनो र दोसल्लासहित सम्मान गरिएको थियो ।

पत्रकार थापा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक, रोटरी क्लब अफ पोखरा लेकसाइडका चार्टर्ड मेम्बर, इन्द्रेणी साप्ताहिकका सहसम्पादक, सामुदायिक जिल्ला समन्वय समिति एवं प्रहरी सेवा केन्द्रका पूर्वमहासचिव एवं सल्लाहकार, राष्ट्रिय प्रेस क्लबका केन्द्रीय सदस्य, रेयुकाई पोखराका पूर्वअध्यक्ष, क्षेत्री समाज नेपालका सचिवसमेत हुन् । पोखरा सिमलचौर निवासी ३८ वर्षीय थापा लामो समयदेखि सामाजिक सेवामा समेत क्रियाशील छन् ।

ब्लड ग्रुप ए पोजेटिभ भएका थापाले सेवाको भावनास्वरुप २०५५ सालदेखि रक्तदान गर्दैआएको जानकारी दिए । कार्यक्रममा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द श्रेष्ठले पहिलो रक्तदाता संस्थाका महासचिव मीनप्रसाद भट्टराई र विनिता श्रेष्ठलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले रक्तदानको महत्वबारे प्रकाश पार्दै समय समयमा रक्तदान गर्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष एवं सल्लाहकार शिव चालिसे, रुद्रनाथ बराल, गणेशबहादुर अधिकारी, सोमनाथ बराल, विष्णु बराल, निर्वमान अध्यक्ष राजु पौडेल, वडा नं. ८ का पूर्व वडा अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, समाजसेवी परशुराम बराल, मानवअधिकारकर्मी टेकनाथ बराल, रक्तसंचार केन्द्र पोखराका प्राविधिक अर्जुन ज्ञवालीलगायत बोलेका थिए । राजकुमार ठुसाजुको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष कृष्ण थापाले र संचालन महासचिव मीनप्रसाद भट्टराई र सदस्य चन्द्र्र गिरीले गरेका थिए ।

‘सृजनाको परिकल्पना, समुन्नत समाजको स्थापना’ भन्ने मूलमन्त्रका साथ २०३७ सालमा स्थापित सिर्जना विकास केन्द्र विभिन्न सामाजिक कार्यमा क्रियाशील रहेको संस्थाका कोषाध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए । संस्थाले बैंकिङ कार्यक्रम एवं द्वन्द्वपीडित बालबालिकाको निम्ति बालगृह संचालन गरेको छ ।

कमेन्टहरु
Loading...