पोखरामा मण्डपबाटै रोकियो बालबिवाह

लालप्रसाद शर्मा

पोखरा, १५ मंसिर/बेहुला रुपन्देहीबाट जन्ती दुलाहा लिएर पोखरा आइसकेका थिए । दुलही ब्युटीपार्लरमा सिंगारिँदै थिइन् । केटी पक्ष पार्टी प्यालेसमा कोही विवहाको तयारी गरिरहेका थिए भने कोही भोज खाइरहेका थिए । निम्तालु आउने क्रम जारी थियो । सबैजना खुशी देखिन्थे ।

दुलहीलाई सिंगारेर पार्टी प्यालेसमा ल्याएपछि जन्तीलाई आउन भनियो । तर, एकैछिनमा बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेस प्रांगणको एउटा विवहाको मण्डपको माहोलमा परिवर्तन भयो । जन्ती र केटीपक्षका अधिकांशको अनुहार निन्याउरो बन्यो । के गर्ने, कसो गर्ने अन्यौलता छायो । हुलबाट कसैले भन्थ्यो, हामीलाई कानुन थाहा छैन । बिहे हुनैपर्छ । कसैले भन्थे रोक्न पाउँदैन ।

१६ वर्ष पनि नपुगेकी किशोरीको जन्मदर्तामा उमेर बढाएर विवाह गर्न लागिएको थाहपाएपछि महिला तथा बालबालिका कार्यालय कास्की र अधिकारकर्मीले पार्टी प्यालेस गएर विवाह रोक्न अनुरोध गरेपछि बिहेको खुशीयाली एकाएक परिवर्तन भएको हो । पर्वत पाखापानी–९ लाम्तुनकी ती किशोरीको रुपन्देही देवदह ११ का २३ वर्षीय किशोरसँग विवाह हुन लागेको थियो ।

किशोरीको गत जेठ ९ मा गाविस कार्यालयमा गरिएको जन्मदर्ता प्रमाणपत्रमा २०५५ साल माघ १९ गते जन्ममिती उल्लेख गरिएको छ । तर उनले पढ्ने विद्यालयमामा रहेको अभिलेख र ८ कक्षाको लब्धांक पत्रमा भने २०५७ माघ १९ गते जन्ममिती रहेको छ । ड्यामसाइडमा डेरामा बस्ने किशोरी पोखराकै एक निजी विद्यालयमा ९ कक्षामा अध्ययनरत छिन् । ‘विवहाकै लागि उमेर बढाइएको देखिन्छ । बढाएको उमेर पनि १८ वर्ष भन्दा कमै छ, कार्यालयकी बाल संरक्षण अधिकृत बिन्दुकला भण्डारीले भनिन्, ‘यो बाल बिवाह भयो । गोप्य सूचना आएपछि हामीले रोक्न भनेका हौं । दुवै पक्ष सकरात्मक भएर विवाहा हुन पाएन ।’

स्रोतका अनुसार बेहुला हङकङको आइडी रहेको र त्यही कारणले सानै उमेरमा छोरीको विवाहा गर्न अभिभावक तयार भएका थिए । भण्डारी, केन्द्रीय बालकल्याण समितिका बाल अधिकार स्रोतव्यक्ति बद्रीप्रसाद वाग्ले, पोखरा उपमहानगरपालिकाकी बालबालिका शाखाकी कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, शक्ति समुहकी अनिसा लामा र प्रहरी प्रतिनिधि सम्मिलित समूहले विवाहस्थलमा पुगेर रोक्न अनुरोध गरेको थियो । पछि जन्ती र केटीपक्षबीच छलफल भएर विवाहा नगर्ने निधोमा पुगेका थिए ।

विवहाको प्रकृति हेर्दा जानीजानी गरेको देखिएको बालअधिकार स्रोत व्यक्ति वाग्लेले बताए । ‘बालबिवाह गर्दा समस्या हुन्छ भन्ने थाहा पाएरै जन्मदर्ता सच्चाइएको हो, उनले भने । मुलुकी ऐन बिहाबारीको महलमा १४ वर्ष माथि र १८ वर्षभन्दा मुनिका किशोरीको विवाह गरेगराएमा ६ महिनासम्म कैद, १० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ । साथै पुरोहित, लमी र अन्य सहयोगीलाई पनि १ महिनासम्म कैद वा १ हजार रुपैयाँसम्म जरीवानाको व्यवस्था उक्त महलमा छ । इकान्तिपुर डटकमबाट

 

कमेन्टहरु
Loading...