मट्टीखानमा स्वास्थ्य चौकीको शिलन्यास, कास्की र स्याङ्गजा जनतामा खुसीयाली

पोखरा, १५ मंसिर /स्याङ्गजा जिल्लाको फेदिखोला गाविस वडा नम्बर ५ मट्टीखानमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य चौकी भवनको शिलन्यास गरेका छन् । आँफै मन्त्री हुँदा स्विकृति दिएको चौकीको शिलन्यास आँफैले गर्न पाउँदा उनले खुसि व्यक्त गरे ।

स्याङ्गजा र कास्की जिल्लाको सिमाना रहेको पर्यटकीय गाउँमा निर्माण हुने आधुनिक स्वास्थ्य चौकी भवनले जनताहरुलाई सेवा दिने नेकपा एमाले फेदिखोला गाउँ कमिटीका अध्यक्ष घनश्याम सुवेदीले बताए । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, कास्कीले निर्माण गर्न लागको भवन २ करोड रुपैयाँको लागतमा बन्नेछ ।

आधुनिक स्वास्थ्य सेवा सहितको उक्त भवन आगमी वर्षको फाल्गुण २३ मा निर्माण सम्पन्न हुने निर्माण व्यवसायी मुक्तीनाथ एण्ड बिमल जेभीका सञ्चालक रामचन्द्र पौडेलले प्रतिबद्धता जाहेर गरे । उक्त भवन निर्माणका लागि स्थानिय भद्रकुमारी गुरुङ्ग, धनप्रसाद गुरुङ्ग र गंगाकुमारी गुरुङ्गले ५ रोपनी जग्गा दान गरेका थिए । साथै चौकीको थप विस्तारका लागि यस अघि नै कृष्णमाया सुवेदीले पनि ५ रोपनी जग्गा दान गरिसकेको स्वास्थ्य चौकी भवन निर्माण अनुगमन समितिका अध्यक्ष नरेन्द्र गुरुङ्गले जनाए ।

शिलन्यास कार्यक्रम सो गाविसका निवर्तमान अध्यक्ष लेखनाथ पराजुलीको अध्यक्षता, वेदु सुवेदीको सञ्चालन तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य गमबहादुर गुरुङ्गको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले स्याङ्गजा जिल्ला कमिटी सदस्य पुष्पराज बरालले स्थानिय तहसम्म जनतालाई लोकतन्त्रको अनुभव गराउन यस्ता कार्यक्रमहरु सहयोगी हुने विचार व्यक्त गरे ।

कमेन्टहरु
Loading...