आत्मविश्वास र व्यवसायिकताका लागि लैङ्गीकता

पोखरा १५ मंसिर/आत्मविश्वास मार्फत पत्रकार महिलाको व्यवसायिक दक्षता बृद्धी गर्ने पहल स्वरुप पोखरामा लैंगिकता संबन्धि तालिम शुरु भएको छ । राष्ट्रनिर्माणको महत्वपुर्ण क्षेत्र पत्रकारीतामा स्थानिय महिलाको गुणात्मक सहभागिता अभिबृद्धी गर्नु तालिमको मुख्य उद्देश्य हो । लैंगिकता संबन्धि तालिमले महिलाको आत्मविश्वास बढाउने र सक्रिय रुपमा कार्यक्षेत्रमा लाग्न अभिप्रेरीत गर्ने तालिम उद्घाटनका क्रममा सरोकारवालाले बताएका छन् । संचारीका समूह नेपालले बुधबार पोखरामा एक औपचारीक कार्यक्रमको आयोजना गरी तालिमको शुरुवात गरेको हो ।

तालिमको, नेपालका लागि अस्ट्ेलियन राजदुत ग्लिन ह्वाइटले उद्घाटन गर्नु भएको थियो । ‘लैंगिकता सम्बन्धि तालिम लिए पछि महिलाले आँफूले आँफूलाइ पहिचान गर्नेछन् र व्यवसायिकतामा खरो उत्रिन सक्ने वातावरण बनाउन सक्षम हुनेछन्’’ तालिमको उद्घाटन गर्दै राजदुत ह्वाइटले भन्नुभयो । उहाँले पत्रकारीता जस्तो जिम्मेवार पेशामा महिलाको संख्यात्मक तथा गुणात्मक सहभागिता अति आवश्यक छ भन्नुभएको थियो । पत्रकारीतामा महिलाका विषय महिलाले मात्र हेर्नु पर्छ भन्ने मान्यता रुपान्तरण गर्नु पर्ने पनि उहाँले बताउनु भएको थियो ।

आधुनिक समयमा महिला प्रतिको सामाजिक मानसिकता पनि सकरात्मक हुँदै गएकोले जिम्मेवारी पाएमा धेरै महिलाहरु सक्षम पत्रकारका रुपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्नु भयो । महिलासंबन्धि विषयमात्र नभएर राजनिति, कुटनिति लगायतका मुद्दामा पनि महिलालाइ जिम्मेवार बनाउनु पर्ने उहाँको धारणा थियो । महिलामैत्री संचारसंयन्त्रका लागि महिलाका विषयमा लेख्ने वा बोल्ने पुरुष पत्रकारको संख्या बढाउन सुझाव पनि उहाँले दिनुभयो ।

यसैबिच नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारीताको नियम, आचारसंहिता पालना सहित अन्य जोखीमपूर्ण जिम्मेवारी बहन गर्ने सवालमा महिलाको क्षमता उपयोग गर्नु पर्ने बताउनुभएको थियो । महिला पुरुष समान रुपमा कार्यक्षेत्रमा खटिए मात्र व्यवसायिक दक्षता बृद्धीहुने हुँदा लैंगिक मैत्री व्यवसायिक संरचना बन्नुपर्ने उहाँको धारणा थियो । त्यसैगरी संचारीका समूह नेपालकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले समुदायले पत्रकारलाई उपल्लो दर्जामा राखेर हेर्ने गरेको भन्दैं आफ्नो क्षमता प्रस्तुत गरेर पत्रकार महिलाहरु समाजको उदाहारणीय पात्र बन्नुपर्ने बताउँनुभयो ।

सक्षम हुनका लागि सबै भन्दा पहिला महिला स्वंय अग्रसर हुनु पर्छ भन्नुुभएको थियो । कार्यक्रममा तालिमका सहजकर्ता तथा संचारीका समूह नेपालका केन्द्रिय सदस्य जया लुइंटेलले आत्मविश्वासका लागि परिश्रम र व्यवसायिकता अत्यावश्यक भएकोले महिलाको रुपमा कमजोर मानसिकता नराख्न महिला पत्रकारहरुलाइ आग्रह गर्नु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, संचारीका समूह पश्चिमांचल अध्यक्ष जमुना वर्षा शर्मा, उपाध्यक्ष बिमला भण्डारी लगायतले बोल्नुभएको थियो । तालिममा पश्चिमांचल विकास क्षेत्रका बिभिन्न संचारमाध्यममा कार्यरत ११ जना पत्रकार महिलाको सहभागिता रहेको छ । तालिम तीन दिनसम्म संचालन हुने छ ।

कमेन्टहरु
Loading...