“एमाओवादीसँग एकता हुनै सक्दैन : गजुरेल”

३० जेठ, काठमाण्डौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीसंग एकता हुनै नसक्ने दावी गर्नु भएको छ । उहाँले आफूहरुले एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा बाबुराम भट्टराई गुटलाई दलाल र गद्दार घोषणा गरिसकेकोले पार्टी एकताको कुनै सम्भावना नरहेको वताउनु भयो । cp gajurelएमाओवादीसँग पार्टी एकता असम्भव भएको दावी गर्दै गजुरेलले भन्नुभयो,’एमाओवादीसँग एकताको च्याप्टर क्लोज भईसक्यो । एकताको कुनै सम्भावना छैन । ‘

विहीवार रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा गजुरेलले निर्वाचनको मिति घोषणा हुना साथ मुलुकमा अर्को द्धन्दको घोषणा हुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,’निर्वाचनको मिति घोषणा गर्नु भनेको अर्को द्धन्द सुरु गर्नु हो । चार दलको सेण्डिकेटले त्यसको तयारी गरिरहेको छ । चुनावको मुखमा वाईसीएल ब्यूताउँनु र त्यसलाई काउण्टर दिन यूथ फोर्स ब्यूताउनुले चार दल नै निर्वाचनको नाममा मुलुकलाई द्धन्दमा धकेल्न उद्यत भएको प्रष्ट हुन्छ । ‘

गजुरेलले दिल्लीले मंसिर १५ भित्र निर्वाचन गर्न दवाव दिइरहेकोले उसलाई खुशी पार्न निर्वाचनको नाममा चार दलले कठपुतली नाच नाचिरहेको दावी गर्नु भयो । दिल्लीले प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र अब माधवकुमार नेपाललाई बोलाएर मंसिर १५ भित्र निर्वाचन गर्न दवाव दिईरहेको उहाँले दावी गर्नु भयो । उहाँले नेकपा-माओवादी सहितका आधा दलहरुलाई बाहिर राखेर गरिने निर्वाचनको औचित्य नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,’दिल्लीलाई खुशी पार्न मुलुकलाई द्वन्द्वमा धकेल्न निर्वाचन नगरौँ । यथास्थितिमा निर्वाचन गर्ने दुस्साहस गर्नेलाई हामी ठिक बनाउँछौ । जवरजस्ती गरिने निर्वाचन हामीहरुलाई मान्य हुँदैन । नेपाली जनता खुशी नभई निर्वाचन हुन सक्दैन । ‘ उहाँले खिलराज रेग्मी नेतृत्वको सरकारले कुनै पनि हालतमा निर्वाचन गर्ने नसक्ने ठोकुवा गर्नुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/81495/#sthash.dCeMt1Du.dpuf

कमेन्टहरु
Loading...