कास्की कारागारका कैदी अस्पतालको झ्यालबाट फरार

पोखरा, ९ मंसिर /उपचारका लागि अस्पताल लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागेका छन् । दिउँसो साढे १ बजे उपचारका लागि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले लगेको थियो ।

उपचारका लागि अस्पतालमा भर्ना गराएका काभ्रे चलाल गोश्वारा–६ का ३५ वर्षीय पुष्कर खड्काले पिसाब फेर्न जान्छु भनी शौचालयमा गएको र शौचालयको झ्यालबाट भागेको कास्की कारागार शाखाका प्रमुख हरि गौतमले बताए ।

विसं २०७० वैशाख २६ गते अपहरण मुद्दामा अदालतले उनलाई छ वर्ष कैद र चार लाख जरिवानाको कारबाही सुनाएको थियो । फरार कैदीको तदारुकताका साथ खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । यसअघि पनि उनलाई उपचारका लागि अस्पताल ल्याउने गरिएको थियो । नियमित उपचारकै सिलसिलामा बिहीबार पनि अस्पताल ल्याइएको थियो ।

३५ वर्षे खड्काको घर काभ्रे हो । कैदी खड्कालाई प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्री नेतृत्वको ३ जनाको टोलीले अस्पताल लगेको थियो । शौचालयको झ्याल खुला भएको मौका छोपेर कैदी खड्का भाग्न सफल भएका हुन् । हत्कडी लगाएरै अस्पताल लगिएका उनलाई शौचालय जाने बेला भने हत्कडी खोलिएको थियो ।

कमेन्टहरु
Loading...