कास्की एक सहित कांग्रेसबाट ९ राज्यमन्त्री थपिने

काठमाडौ, ७ मंसिर/नेपाली कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा बुधबार ९ राज्यमन्त्री थपिने भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ९ राज्यमन्त्री पठाउने अन्तिम तयारी गरिरहेका कांग्रेस नेताले बताएका छन्। कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।

माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा चार राज्यमन्त्री चयन गरिसकेको छ। कांग्रेसबाट ९ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३९ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । यस्तै सोमबार एकीकृत भएको राप्रपाले पनि दुई जनालाई मन्त्री पठाउने तयारी गरिरहेको छ।

कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका थिए। देउवा निकट स्रोतका अनुसार ९ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र र शशांकलाई ३ जना,कृष्णप्रसाद सिटौला र खुमबहादुरलाई एक एक जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका हुन् ।

राज्यमन्त्रीका लागि दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका शुवर्ण ज्वारचन, संखुवासभाका तारामान गुरूङ, दीपक खड्का, इन्द्र बानियाँ, ध्यानगोविन्द रञ्जित, सुनसरीका सीताराम मेहता चर्चामा छन्। यस्तै काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतको दाबी छ।

कमेन्टहरु
Loading...