मंसिर ९ देखि रंगशालामा तेस्रो ‘यूनिप्स स्पोर्टस् मिट’

पोखरा, ७ मंसिर/संस्थागत एवं निजी विद्यालय संगठन (यूनिप्स)ले मंसिर ९ देखि ११ गतेसम्म ‘स्पोर्टस् मिट’ गर्ने भएको छ । पोखरा रंगशालामा हुने ३ दिने ‘यूनिप्स स्पोर्टस् मिट’को बारेमा आयोजकले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । यूनिप्सले गर्न लागेको यो तेस्रो सँस्करणको ‘स्पोर्टस् मिट’ हो ।

स्पोर्टस् मिटमा यूनिप्स अन्तरगतका २६ वटा विद्यालयले सहभागिता जनाउने आयोजकले बताएको छ । ‘खेलकुदको विकासका लागि विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई ग्रुम गराउने उद्देश्यसहित हामीले यो वृहत खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेका हौँ ।’ यूनिप्स नेपालका केन्द्रीय अध्यक्ष ध्रुब गिरीले भने–‘खेलकुद तत्कालका लागि मनोरञ्जन भएपनि दीर्घकालिन रुपमा यसको प्रभाव सकारात्मक रहनेमा हामी ढुक्क छौँ ।’

स्पोर्टस् मिट अन्तरगत खुला विधातर्फ फुटबल, भलिबल, रिले दौड र मार्चपासलाई समेटिएको आयोजकले बताएको छ । त्यस्तै उसले प्राथमिक, निम्न प्राथमिक र माध्यामिक तहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै रुपमा खेलमा प्रतिस्पर्धा गराईने समेत जनाएको छ । त्यो सँगै लङ जम्प, हाइ जम्प, सर्ट फुट, कबड्डी, दौड प्रतियोगिता लगाएतका खेलहरु पनि समावेश छन् ।

स्पोर्टस् मिटमा २६ स्कुलका कुल ४ सय ९५ जना विद्यार्थीहरुले सहभागिता जनाउने यूनिप्सले बताएको छ । विभिन्न प्रतियोगिता अन्तरगत फुटबलतर्फ १० वटा विद्यालय भिड्नेछन् । त्यस्तै छात्र÷छात्रा भलिबलतर्फ ७÷७ वटा विद्यालय सहभागी छन् । छात्रातर्फ मात्रै हुने कबड्डी प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । सबै विधाका खेलका विजेताहरुलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराईने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

‘हाम्रो लागि यो स्पोर्टस् मिट एउटा उत्सव हो । र, यसलाई हामीले भव्य बनाउनेछौँ ।’ पत्रकार सम्मेलनमा बोल्दै खेलकुद सँयोजक विनोद नेपालीले भने । यो पटक चौथो सँस्करणको यूनिप्स स्पोर्टस् मिट हुनुपर्ने भएपनि अघिल्लो वर्ष भूकम्पका कारण यो कार्यक्रम रोकिएको संस्थाले जनाएको छ । यूनिप्स स्पोर्टस् मिटमा करिब १० लाख रुपैयाँ खर्च हुने उसको अनुमान छ । कार्यक्रमलाई क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यद्यपी त्यो भन्दा अगाडि नै भलिबल, फुटबल र कबड्डी खेलका केहि चरणका प्रतियोगिता भण्डारढीक रंगशालामा हुने यूनिप्सले बताएको छ ।

कमेन्टहरु
Loading...