पोखरामा ‘वाइल्ड रिपर्ज’को प्रस्तुती हुने

पोखरा, ७ मंसिर/भारतीय टेलिभिजन रियालिटि शो डान्स प्लसबाट चर्चित भएको नृत्य समूह ‘वाइल्ड रिपर्ज’ले पोखरामा प्रस्तुती दिने भएको छ । आगामी मंसिरको १८ गते शनिबार यो समूहले मालेपाटनको फुटबल मैदानमा आफ्नो प्रस्तुती दिन लागेको हो ।

आदर्श कला साँस्कृतिक परिवारको आयोजनामा हुन लागेको ‘आदर्श डान्स मास्टर’ नृत्य प्रतियोगिताको फाइनलको अवसरमा यो समूहले प्रस्तुती दिने कार्यक्रमका सँयोजक राजेश खड्काले बताए । नेपाली मुलकै चर्चित भारतीय नृत्य समूह ‘वाइल्ड रिपर्ज’ले पोखरामा प्रस्तुती दिन लागेको यो पहिलोपटक हो । यो समूह ‘डान्स प्लस’को दोस्रो सिजनमा रनरअप भएको थियो ।

‘नेपालमा यो नृत्य समूहको नृत्य रुचाउने युवा जमात निकै बाक्लो छ । र, हामीले पोखरेली युवाको चाहनालाई मध्यनजर गर्दै यो समूहलाई ल्याउन लागेका हौँ ।’ सँयोजक खड्काले भने–‘सँगै हाम्रो प्रतियोगिताका फाइनलिस्ट र पोखराका केहि समूहहरुले पनि नृत्य प्रस्तुत गर्नेछन् ।’ सो दिन ‘आदर्श डान्स मास्टर’ नृत्य प्रतियोगिताको फाइनल पनि विशेष रहने उनले बताए ।

‘आदर्श डान्स मास्टर’ नृत्य प्रतियोगिता अन्तरगत प्रथम हुनेले एउटा फेन्सिङ स्कुटर, दोस्रोले ५० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यसैगरि प्रतियोगितामा एकजनालाई ‘भ्यूअर्स च्वाइस’ पुरस्कार स्वरुप १० हजार र उत्कृष्ट नृत्य निर्देशकलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । यो प्रतियोगितामा अमन तामाङ र महेश गोदार निर्णायक रहेका छन् ।

ग्राण्ड फिनालेमा ‘वाइल्ड रिपर्ज’सँगै निर्णायकहरु दुबै जनाको नृत्य प्रस्तुती पनि रहने आयोजकले बताएको छ । त्यस्तै सो दिन सूर्योदय कला केन्द्र र बि टु डिको पनि प्रस्तुती रहनेछ । कार्यक्रमलाई सुरज थापामगर र सुरेन सुशिलले होस्ट गर्नेछन् ।

कमेन्टहरु
Loading...