तनहुँको दुम्सी दरै गाउँ गन्तव्य गाउँ घोषणा

पोखरा, ५ मंसिर/ हरेक बर्ष ३ वटा गाउँलाई गन्तव्य गाउँ घोषणा गर्दै आएको गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल भिटोफले तनहुँको दुम्सी दरै गाउँलाई २०१६÷२०१७ को गन्तव्य गाउँ घोषणा गरेको छ । शनिबार भिटोफ नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटाले दुम्सी दरै गाउँ होम स्टेकि आशा दरैलाई गन्तव्य गाउँ घोषणा गरेको प्रमाणपत्र प्रदान गरेका थिए ।

उनले दरै गाउँलाई होम स्टे संचालनको लागि आबश्यक न्युनतम पुर्वाधार बनाउन सहयोग गरेर गाउँको देश बिदेशमा प्रचारप्रसार गरि गाउँको बिकासमा टेवा पुर्‍याउने बताए । दमौलीबाट ५ किमि टाढा रहेको दरै जातिहरुको बहुल्यता रहेको दुम्सी दरै गाउँका अधिकांश युवाहरु वैदेशिक रोजगारमा गएका छन् भने घरमा बुढाबुढी र केटाकेटी छन् ।

मादी नदिको नजिकै रहेको उक्त गाउँका बासिन्दाको अतिथि सत्कार अन्य कुनै पनि गाउँमा भन्दा मौलिक भएको भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारीले बताए । भिटोफ कास्कीले धेरै गाउँहरुको अबलोकन भ्रमण गरेर तिनीहरु मध्ये दुम्सी दरै गाउँलाई गन्तव्य गाउँ घोषणा गर्न सिफारिस गरेको थियो ।

उनले गन्तव्य गाउँमा पोखरा र काठमाडौ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई वास बस्न तथा त्यहाँको संस्कृति परम्परालाई नजिक बाट थाहा पाउन पनि पर्यटकको रोजाइमा पर्ने बताए । सो अबसरमा भिटोफ कास्कीका राजु दहाल, राम प्रसाद गौतम, टीका पौडेल, कल्पना भुजेल लगाएतले बोलेका थिए ।

दुम्सी दरै गाउँ दमौलीबाट नजिकै, ब्यास नगरपालिका वडा नं. ५ मा भएर पनि धेरै कुरामा पछि परेको भन्दै आशा दरैले सबैको सहयोगले गाउँको मुहार फेर्ने बताएकी थिइन् । सोही अबसरमा भिटोफ केन्द्र र कास्की जिल्लाको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको बिधान संशोधन गर्ने, गन्तव्य गाउँ घोषणा गरिएका गाउँको प्रभावकारी प्रबर्द्धन गर्ने लगाएतका निर्णय गरेको कास्कीका सचीव रबिन्द्र राज पौडेलले बताए । केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकको संचालन महासचिव बसुदेव पाण्डेले गरेका थिए ।

कमेन्टहरु
Loading...