बिश्व पायल्स दिवस : पोखरामा शिविर गर्दै मनाईने

पोखरा, मंसिर १ ।बिश्व पायल्स दिवस पोखरामा पहिलो पटक मनाउने तयारी भैरहेको छ । यहि मंसिर ४ गते मनाईन लागिएको यो दिवसमा निशुल्क परामर्श सेवा तथा परीक्षण कार्यक्रम संचालन गर्न लागिएको जानकारी आयोजकहरुले दिएका छन् । प्राय जसो खानपान र आहार बिहारको कारण उत्पन्न हुने गुदद्वारमा हुने रोगबारे जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम हुन लागेको हो ।उक्त दिनको पायल्स सम्बन्धि रोगको परीक्षण एवं परामर्श शिविर न्यूरोड आदर्शचोकमा रहेको स्पर्श आयुर्वेद अस्पतालको प्राबिधिक अगुवाईमा सम्पन्न हुने भएको छ । अधिक मासुको परिकार सेवन तथा गरिष्ट भोजन गर्नेलाई दुःख दिने यस प्रकारको रोगको शुरुवाती कारणमा पर्दछ ।

बिश्व पायल्स दिवस : पोखरामा शिविर गर्दै मनाईने
बिश्व पायल्स दिवस : पोखरामा शिविर गर्दै मनाईने

पायल्स एवं फिष्टुलाको नामले परिचित यो रोगमा गुदद्वार चिलाउने, दिशा गर्दा रगत आउने, गुदद्वारमा मासु पलाउने, गिर्खा भएको महशुस हुने र निको नहुने घाउ बन्दै क्यान्सर समेत हुन सक्ने गरेको छ । पायल्स दिवसकै अवसर पारेर उक्त अस्पतालको प्राबिधिक सहयोगमा मंसिर ५ गते सम्म पोखरा स्थित बिभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक उवं सर्बसाधारणलाई समेत निशुल्क सेवा संचालन गरिने भएको जानकारी स्पर्श आयुर्वेद अस्पतालकी डा.सुशिला पुर्जाले दिएकी छन् । संभव भए सम्म जथाभावी खानपानमा नियन्त्रण गर्ने, त्यति नभए औषधिबाट यो रोगको रोकथाम गर्ने र त्यतिले पनि निको नहुने देखिएमा आयुर्वेदको क्षारसुत्र बिधि अनुसार उपचार गरिने प्रचलन अहिले ब्याप्त हुंदै गएको छ ।

खाद्य बिकारले उब्जाउने ग्याट्रिक रोग र त्यसपछि पायल्सले चाप्ने गरेकोले जनचेतना जगाउने पहल उक्त अस्पतालले गर्न लागेको बताएको छ ।अस्पतालका चिकित्सक तथा क्षारसुत्रका डाक्टर सुवर्ण पौडेलका अनुसार धेरै जसो आधुनिकताको नाममा  सहरी जीवन यापन गर्नेहरुलाई गजेट्ने गरेको यस प्रकारको रोगलाई बेलैमा रोकथाम वा उपचार नगरेमा जटिल समस्या आएर अपरेशन गर्नु पर्ने हुन्छ । शरिरको प्रकृति हेरेर उपचार गर्ने प्रणाली नभएको कारण आधुनिक चिकित्सा पद्घतिमा एक पटक अपरेशन गरेता पनि यस्तो समस्या बारंबार उल्झने गरेको डा.पौडेल बताउछन्  ।

आधुनिक चिकित्सा पद्घति अनुसार आफ्नो पांचौ पटक पायल्सको अपरेशन गर्नु परेको बताउने पोखरा छोरेपाटन बस्ने मीन बहादुर गुरुङ्ग बताउंछन् ‘क्षारसुत्र बिधिबाट एक पटक मात्र उपचार गराए पछि यो समस्या समाधान भएको छ ।’ रोग लागि सकेकाले माछा मासु, अमिलो पिरोका अतिरिक्त अदुवा मरिच लगायतका गरम हुने बस्तुहरु र मसलाजन्य खाद्य नखाएमा रोग स्वतः कम हुन जाने बताईएको छ । डा.सुशिला पुर्जा बताउंछिन् आयुर्वेदमा आहारलाई पनि औषधिकै रुपमा ग्रहण गर्न सिकाईन्छ तर मानिसले खाना खाने नियमलाई उल्लंघन गर्ने भएकाले स्वास्थ्यमा बिभिन्न समस्या आउने गरेको हो ।

कमेन्टहरु
Loading...