तरुण दलको महाधिवेसन आजदेखि पोखरामा सुरु हुँदै

सागर राज तिमिल्सिना
पोखरा, २७ कात्तिक/नेपाल तरुण दलको चौथो महाधिवेशन आज देखि पोखरामा सुरु हुँदैछ । महाधिवेशन तयारी पूरा भएको मूलआयोजक समितिले जनाएको छ । बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ ।

मानवअधिकारचोकमा उद्घाटन सत्र हुनुअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित ¥याली निकालिने कार्यक्रम छ । बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएका छन् । मूल आयोजक समितिले आवास, भोजन, मंच व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ भने पोखरामा विभिन्न ठाउँमा स्वागतद्धार निर्माणसँगै झण्डा राखेको छ ।

पोखरा प्रवेश गर्ने विजयपुर, छोरेपाटन, सिम्पानी नाकामा गरी १० वटा स्वागतद्धार निर्माण गरिएको छ । यतिखेर महाधिवेशन स्थल पोखरा सभागृह, उद्घाटन हुने चिप्लेढुंगास्थित मानवअधिकारचोक सिंगारिएको छ । तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ ।

उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवाहरु गरी झण्डै १० हजार जनसमुदाय उतार्ने गरी तयारीमा रहेको नेपाल तरुण दल कास्कीका अध्यक्ष तथा स्थानिय व्यवस्थापन समितिका संयोजक मनोज गुरुङले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न ५० लाख रुपैया खर्च लाग्ने अनुमान आयोजकको छ ।

उद्घाटनसत्रमा भाग लिन तरुण दलका पूर्वअध्यक्ष एवं रक्षामन्त्री बालकृष्ण खाँण, नेता प्रकाशमान सिह, कृष्ण सिटौला, गगन थापालगायत शुक्रबार नै पोखरा आइसकेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला आज नै आउने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...