तरुण दलको महाधिवेशनले लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्छ– सिटौला

पोखरा, २७ कात्तिक / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भोलिदेखि पोखरामा हुने नेपाल तरुण दलको चौथो महाधिवेशनले लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताउनुभएको छ । नेपाल तरुण दलको महाधिवेशनको सन्दर्भमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो नेतृत्व चयन गरी नयाँ विचार सहितको तरुण दल निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राजनीति देश बनाउनका लागि भएको उल्लेख गर्दै उहाँले प्रत्येक तरुणमा देशका लागि केही गर्छु भन्ने आत्मविश्वास आवश्यक भएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य मन्त्री गगनकुमार थापाले नयाँ सोच र विचारको तरुण दल बर्तमानको आवश्यकता भएको बताउँदै युवा वर्गका विद्यमान समस्याको समाधान एवम् चुनौतीलाई सामना गर्न सक्ने किसिमको नेतृत्व आवश्यक भएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले तत्कालिन अवस्थामा सामन्ती संस्कार र गरिवी तथा पछौटेपनको अन्त्यमा सहयोग पु¥याउने सोचका साथ तरुण दलको स्थापना भएको बताउँदै समयानुकुल युवा समस्याको समाधान र देशको आर्थिक विकास र समृद्धिमा योगदान गर्ने तरुण दल अहिलेको आवश्यकता भएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सबैलाई समेटेर लैजान सक्ने विचार र सोच भएको नेतृत्व अहिलेको आवश्यकता भएको बताउँदै त्यसैका लागि वर्तमानमा युवा पंक्ति सकृय भएर लागेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराई, कार्यक्रमका सभापति एवम् नेपाल तरुण दलका केन्द्रीय सदस्य नारायण भट्टराई, नेपाल महिला संघका महासचिव धना खतिवडा, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू दामोदर लम्साल, नृप सुनार, दिनेश राई लगायतले लोतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्न पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्न नहुने धारणा राख्नुभयो ।

कमेन्टहरु
Loading...