पोखरा, २५ कार्तिक /कृष्णदासी महाराज सिद्धबाबा भोली पोखरामा आउनु हुने भएको छ । पोखरेलीहरु साधकको विषेश अनुरोधमा उहाँ शुक्रबार पोखरा आउन लाग्नु भएको हो । जगत्गुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नदिपुर, पोखराको संयुक्त आयोजनामा हुन लागेको हरिबोधनी एकादशी विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उहाँका अनुवाई भोला बरालले जानकारी गर्नु भयो ।
नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका पीठाधीशसमेत रहेका उनले शनिबार पोखरेली साधकलाई विशेष साधना र आर्शीवचनसहित भण्डारा (भोजन) गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रत्येक शनिबार महायोग साधनापछि हुने भण्डारा यस पटक महायोगी सिद्धबाबाको हातबाट वितरण गरिने बताईएको छ ।
सिद्धबाबा पोखराकै नरनारायण बाबा आश्रम रामघाटमा नौ दिनसम्म भूसमाधि सम्पन्न गरे पछि पोखरामा उहाँका अनुवाईहरु निकै हर्षित भएका थिए । पोखराको सो समाधी पछि सिद्धबाबाले हालै भारतको काशीमा पनि १५ दिने समाधी सम्पन्न गरि सक्नु भएको छ ।
समाधी सम्पन्न गरे पछि भक्तहरुलाई आशिर वचन दिनको लागि पनि पछिल्लो समय उहाँ पोखरा आउँदै हुनुहुन्छ । आयुवेद विज्ञानका विज्ञ समेत रहनु भएका सिद्धबाबासँग पोख्रेलीहरुले विभिन्न किसिमको स्वास्थ्य सेवा र सल्लाह लिन सकिने बरालले जानकारी दिनु भयो ।