काठमाडौं, कात्तिक २३।सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको म्याद तामेली गर्न अवरोध गर्नुको कारण सहित ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले लोकमानलाई ७ दिन भित्र म्याद तामेली गरेको विषयमा कारबाही गर्नु नपर्ने कारण सहित आफै अदालतमा उपस्थित हुन आदेश दिएको हो ।अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चको म्याद तामेलीमा अवरोध पुर्याएको दाबी सहित लोकमान , उनका ज्वाँइ प्रवल थापा, छिमेकी प्रमोद कार्की र प्रहरी नायव निरीक्षक नहकुल गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

रिटको पक्षबाट आज अधिवक्ताहरु टीकाराम भट्टराई, गोविन्द बन्दी लगायत १० जनाले बहस गरेपछि सर्वोच्चको आदेश आएको हो ।अख्तियार प्रमुख कार्कीको घरमा म्याद तामेलीको पत्र टाँस्न गएका तामेलदारलाई लोकमानका आफन्त र छिमेकीले अवरोध गरेका थिए । सर्वोच्चले अदालतलको काममा असहयोग र अवरोध गर्नु विधिको शासनमाथि कै प्रहार भएको ठहर पनि गरेको छ । यसैबिच, माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाही प्रस्तावक र एमालेका सांसदको समर्थनमा संसदमा अख्तियारका निलम्बित प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता समेत भएको छ ।