
पोखरा, कात्तिक २३। मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले ब्रुनाइमाथि ३–० को सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइमाथि शानदार जित निकाल्दै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै भरत खवासले नेपालका लागि खेलको ७२ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । उनले कर्नरबाट पाएको पासलाई गोलमा परिणत गरेका थिए ।
नेपालका लागि तेस्रो गोल विमल घर्तीमगरले गरे । विमल घर्तीमगरले पेनाल्टी मार्फत ७९ मिनेटमा गोल गरेका थिए । खेलको सुरुवात देखिनै नेपाल ब्रुनाइमाथि हावी भएको थियो । ब्रुनाइले पाएका केही गोलका मौकालाई भने सदुपयोग गर्न सकेन । यसअघि, नेपालले टिमोर लेस्टेविरुद्ध गोलरहित बराबरी खेलेको थियो । ब्रुनाईले भने टिमोरलाई ४–० ले हराएको थियो । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका कमजोर फुटबल राष्ट्रहरुको लागि पहिलोपटक सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । सात देश सहभागी प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र बु्रनाइ समूह एमा छन् । यस्तै समूह बिमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।