मुक्तिनाथ वाहिनीमा सशस्त्र प्रहरीलाई मानवअधिकार सम्बन्धी प्रशिक्षण

पोखरा, २३ कात्तिक/पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी वल मुख्यालय मुक्तिनाथ वाहिनी पोखराको आयोजनामा मानवअधिकार सम्बन्धि एक हप्ते अनुशिक्षण तालिम सुरु भएको छ ।

सशस्त्र प्रहरी र सशस्त्र प्रहरी कर्मचारीलाई लक्षित तालिमको मंगलवार मुक्तिनाथ वाहिनीका सहायक वाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कृष्ण भक्त ब्रम्हचार्यले उद्घाटन गरे । ब्रम्हचार्यले मानवअधिकारको संरक्षण र संबद्र्धनमा तालिमको भूमिका महत्वपूर्ण हुने बताउदै सबैले व्यवहारमा उत्रार्नु पर्ने बताए ।

कार्यक्षेत्रमा खटिदा मानवअधिकारको उच्चतम पालना गर्नु पर्ने उनको भनाई थियो । मानवअधिकारको प्रत्याभूत हुनेगरी सेवा प्रवाहको लागि सशस्त्र प्रहरी वलले स्थापनाकालदेखि सशस्त्र प्रहरीलाई पत्येक महिना तालिमको संचालन गर्दै आएको उनको भनाई थियो । तालिममा मुक्तिनाथ वाहिनी माताहतका चार वटा गण, तीन वटा सिमा सुरक्षा कार्यालय, ८ वटा गुल्मका ३३ जना र वाहिनीका दुई जना गरी ३५ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।

कात्तिक ३० गते सम्म सञ्चालन हुने तालिममा मानवअधिकार, मानवअधिकार सम्बन्धि विश्वब्यापी घोषणापत्र, अन्तराष्ट्रिय मानविय कानुन, नेपालमा आइसीआरसीको भूमिका, मानवअधिकार हनन् , बल प्रयोगको सिद्धान्त तथा हतियारको प्रयोग र मानव अधिकार सम्बन्धि विषयमा प्रशिक्षण दिइने सशस्त्र प्रहरी निरिक्षक टिकाराम गौतमले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...