अमेरिका सडक दुर्घटनामा परि चार नेपालीको मृत्यु

एजेन्सी, २२ कात्तिक/अमेरिकामा सडक कार दुर्घटनामा परि चार नेपालीको मृत्यु भएको हो छ । अमेरिकामा रहेका छोराबुहारी भेट्न जाँदा भएको कार दुर्घटनामा परी गुल्मी पिपलधारा–७ कटौंजेका तीनसहित चारजनाको ज्यान गएको हो। गत शुक्रबार राति स्थानीय सयम अनुसार ९ बजे अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटना भएको हो ।

दुर्घटनामा परेर कटौजेका चिरञ्जिवी खनाल, उनकी श्रीमती श्यामामञ्जरी खनाल, बुहारी ऋचा खनाल र अर्की एक युवती प्रतिमा सुवेदीको ज्यान गएको हो। प्रतिमा चिरञ्जिवीका छोरा समिरकी साथी हुन् । आफन्तकोमा तिहारको टीका लगाएर घर फर्कँदै गर्दा उनीहरु सवार कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर खनालका छोराहरु समिर र सुवास घाइते भएका छन्।

गाडीको पछाडि सिटमा बसेका चारैजनाको घटनास्थलमै ज्यान गएको आफन्तले जानकारी दिएका छन् । समिर र सुवासको उपचार भइरहेको छ। समिरको मेरुदण्डमा चोट लागेको छ भने सुवासको खुट्टा भाँच्चिएको छ। मालबाहक ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

समिरले यूनिभर्सिटी अफ जर्जियामा पिएचडी गर्दै थिए। अर्का छोरा सुवास चिकित्सक पढ्दै थिए। मृतकहरुको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। चिरञ्जिवी खनाल सरकारका निवृत्त कर्मचारी हुन्। गुल्मी पिपलधारा घर भएका खनाल परिवार कपिलबस्तु हुँदै काठमाडौंको अनामनगर बसाई सरेका थिए। खनाल दम्पत्ति दशैंअघि घुम्न भन्दै अमेरिका गएका थिए।

कमेन्टहरु
Loading...