दार्चुला, कात्तिक २१। स्थानीय तह पुनर्संरचनामा स्थानीय जनताको आवश्यकता, माग र भावना अनुसार सम्बोधन नभएको भन्दै दार्चुलाको मालिकार्जुन गाविसका सबै राजनीतिक दलका नेता, कार्यकर्ताहरुले पार्टी छाड्ने घोषणा गरेका छन् । हिजो दार्चुलामा राजनीतिक दलहरुको सहमतीमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले स्थानीय तहको संरचना निर्माण गरेको थियो । आज मालिकार्जुन गाविसमा खुला कार्यक्रम गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका सबै नेता, कार्यकर्ताले आआफ्नो पार्टी

परित्यागको घोषणा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सबै दलका नेता र कार्यकर्ताहरुले आफ्नो गाविसमा निर्दलीय भएको घोषणा समेत गरेका छन् ।जनभावना अनुसार निर्णय र काम गर्न नसकेको र जिल्लास्तरमा दलका नेताहरुले आफ्नो क्षेत्रलाई उपेक्षा गरेको स्थानीय नेताहरुको आरोप छ ।स्थानीय तह पुनर्संरचनामा जिल्लाको प्राविधिक सहयोग समितिबाट सुरुमा छलफल गरी सुझाव संकलन गरिएको खाका अनुसार संरचना नबनाइएकोमा स्थानीय नेताहरुको आपत्ति रहेको छ ।
लेकम क्षेत्रका ग्वानी, मालिकार्जुन, भगवती, शंकरपुर र हुनैनाथ गाविसको क्षेत्र समेटेर एउटा गाँउपालिका बनाउन जिल्ला सहयोग समितिले प्रस्ताव गरेको थियो ।आजको कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सदस्य श्यामराज विष्ट, कांग्रेस जिल्ला सदस्य सुन्दरसिंह धामी, माओवादी केन्द्रका जिल्ला सदस्य मोहनसिंह धामीले पार्टी परित्यागको घोषणा गरेका छन् ।