पोखरा उपत्यका वृहत सफाइ अभियान, २३ औं हप्तामा जनलहर बढ्दै

पोखरा, २० कात्तिक/पोखरा उपत्यका बृहत सफाइ अभियानको २३ औं हप्ता जनलहर सहित सफलताका साथ सम्पन्न भएको छ ।  नदीपुरस्थित नारायणस्थान मन्दिर परिसरदेखि नदीपुरचोक, वुद्ध विहारहुँदै तेर्सापट्टीको गिरिजाचोकसम्म झण्डै ७ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता अर्जुन भण्डारीले जानकारी दिए ।

सफाइ अभियानक्रममा पुलसम्मका खाल्डाखुल्डी पुर्नुका साथै फोहोर मैलाको पहाड र दुर्गन्धित नालीसमेत सफा गरिएको सामाजिक अभियन्ता एवं टोल विकास संस्था वडा समन्वय समिति १ अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । कार्यक्रममा पूर्वसांसद कृष्णकुमारी परियार, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक किशोर लम्साल र नेपाली कांग्रेस नगर सभापति बजिरमान श्रेष्ठको विशेष उपस्थित थियो ।

यसअघि सहभागीलाई सामाजिक अभियन्ता एवं कन्या क्याम्पस पोखराका सहायक प्राध्यापक इन्द्रकमल मानन्धरले सपथ खुवाएकी थिइन् । सफाइ अभियानलाई वातावरणीय सुन्दर नेपाल प्रालिले ५ सय जोर डिस्पोजल ग्लोब र मास्क तथा ज्ञानमार्ग आमा समूहले पिउनेपानी व्यवस्था गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरमा सुरक्षाकर्मी, स्थानीय आमा समूह, टोल विकास संस्था, नारायणस्थान धार्मिक सेवा समिति, नगरपालिकाका कर्मचारी, सामाजिक अभियन्तालगायतको उल्लेख्य सहभागिता थियो । कार्यक्रमको अन्त्यमा सफाइ अभियानको अभिभावकीय भूमिका निर्वाह गर्दै आएका स्थानीय विकास अधिकारीलाई फूलको गुच्छा र माला लगाइ बिदाइ र जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर नारायण बराललाई स्वागत गरिएको थियो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । २४ औ साताको सफाइ अभियान गणेशमानसिंह चोक (नालाकोमुख) बाट सुरु गरिने टोल विकास संस्था वडा समन्वय समिति ३ का अध्यक्ष विष्णुशंकर ख्वाउजुले बताए ।

कमेन्टहरु
Loading...