भारतीय राष्ट्रपति मुखर्जी आज पोखरा आउँदै, सुरक्षा व्यवस्था कडा

पोखरा, १९ कात्तिक/भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पोखरा आउँदैछन् । नेपालको तीनदिने राजकीय भ्रमण सिलसिलामा बुधबार काठमाडौ आएका मुखर्जी आज जनकपुरहुँदै पोखरा आउने कार्यक्रम छ । उनको स्वागतमा यतिखेर पोखरा व्यग्र प्रतीक्षामा छ ।

दिउँसो करिब १ बजे वुद्ध एयरको विमानबाट पोखरा विमानस्थल ओर्लिएपछि खाना र आरामका लागि होटल ग्राण्डमा केहीबेर विताए पछि रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय जाने कार्यक्रम छ । विमानस्थलमा मुखर्जीलाई पोखरा विभिन्न व्यक्तीले स्वागत गरेका थिए । राष्ट्रपति भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए ।

मुखर्जीको पोखरा भ्रमणको पूर्वतयारी स्वरुप हिजो पूर्वअभ्यास गरिएको थियो । पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो । पेन्सन वितरण कार्यालयमा हुने कार्यक्रममा करिब १० हजार भूपू सैनिक सहभागी हुने छन् । राष्ट्रपति मुखर्जीको विशेष कार्यक्रमका लागि पेन्सन क्याम्पभित्र मञ्च सजावटदेखि आवश्यक तयारी पूरा भएको गरिएको छ ।

पोखराको मात्र ४ घण्टे बसाइँक्रममा उनको लागि सुरक्षाका लागि उच्च सुरक्षा व्यवस्था तयार पारिएको छ । सुरक्षार्थी करिब एक हजार पाँच सय सुरक्षाकर्मी खटिनेछन् । मुखर्जीको स्वागत तथा सत्कारका लागि पोखरा विमानस्थलदेखि बिरौटास्थित होटल ग्राण्डसम्म र त्यहाँदेखि रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयसम्म नौ वटा स्वागत गेट निर्माण गरिएको छ । ठाउँ ठाउँमा नेपाल र भारत दुबै देशका झण्डा फहराइएको छ । भ्रमणकै सिलसिलामा राष्ट्रपति मुखर्जी सवार हुने सडक समेत मर्मत कार्य गरिनुको साथै रंगरोगन गरी चिरच्याट्ट पारिएको छ ।

यस्तै पोखरा भ्रमणलाई मध्यनगर गरी शुक्रबार पोखरामा प्याराग्लाइडिङ उडाउन रोक लगाएको छ । पोखरा नागरिक उड्यान कार्यालय पोखराले नेपाल हवाइ खेलकुद सस्थालाई पत्रपठाएर शुक्रबारका सबै उडान रोक लगाएको जनाइएको छ । यता, राष्ट्रपतिको भ्रमणका बेला सडक विभिन्न ठाउँमा नेपाली संस्कृति झल्किने जातीय भेषभूषाले मुखर्जीको स्वागत गर्ने छन् ।
होटल ग्राण्डपछि मुखर्जी बिरौटा, मुस्ताङचोक, पृथ्वीचोक, बुद्धचोकहुँदै सिधै रामबजारस्थित पेन्सन वितरण कार्यालयमा हुने समारोहमा सरिक हुने कार्यक्रम छ । उनी दिउँसो ४ बजे फर्किने छन् । मुखर्जी काठमाडौं देखि जनकपुर र पोखरा आउजाउपछि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

कमेन्टहरु
Loading...