पोखरा, १८ कात्तिक /तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार पोखरा आउने कार्यक्रम छ । मुखर्जीको पोखरा भ्रमणलाई सफल बनाउन बिहीबार पोखरा सुरक्षा निकायले सवारी आवागमनका पूर्वअभ्यास गरेका छन् ।
सुरक्षा सम्बन्धी आवश्यक सम्पूर्ण तयारी पूरा गर्न अभ्यास गरेको क्षेत्रीय प्रशासक खगराज बरालले बताए । पोखरा विमानस्थलबाट पोखरा ग्राण्ड होटलमा आराम गर्न जाने र केहिवेरको आरामपछि उनी एयरपोर्ट, पृथ्बीचोक हुदै पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
मुखर्जीको स्वागतमा पोखरामा विभिन्न नौ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ भने बिग्रेभत्केका सडकको मर्मत सम्भार भई सकेको उनले बताए । पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मको बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने तयारी रहेको छ ।
मुखर्जीको सुरक्षार्थ करिब १५ सय सुरक्षाकर्मी खटिने छन् । उनको पहिलो सुरक्षा घेरामा भने भारतीय कमाण्डोनै खटिनेछन् । दोस्रो तहमा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी रहनेछ । पोखरामा रहने समयमा उनको सुरक्षाको कडा प्रबन्ध मिलाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।