पोखरा, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आउने तयारी गरिरहेका बेला पोखरास्थित भारतीय भूतपूर्व गोर्खा सैनिकहरुले भने पेन्सन वितरण कार्यालयले आफूहरुलाई अनेक दुःख दिने गरेको गुनासो गरेका छन् । एक्स सर्भिस म्यान सेल, पोखराले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उनीहरुले भारतीय सैनिकको मृत्यु भएपछि उसकी श्रीमतीले पेन्सन पाउन निकै झन्झट र कस्ट खेप्नुपर्ने गरेको बताएका हुन् ।
सेलका संयोजक कर्णेल कमानसिंह गुरुङले दुईओटा नाम भएको अवस्था, जात वा थर परिवर्तन गरी भर्ती भएकाहरु, दोस्रो श्रीमती, लगायतका विषयमा पेन्सन कार्यालयले दुःख दिने गरेको बताए ।उनले भारतका पेन्सनरको मृत्यु हुने बित्तिकै मृत्यु दर्ताको प्रमाणपत्रले विधवाले पेन्सन पाउने भए पनि नेपालीलाई भारत सरकारको कानुन विपरित पेन्सन बितरण केन्द्र पोखराका कर्मचारीले अनेकन कागज खोज्नु गलत भएको बताए । नेपालमा कुल १ लाख २६ हजार भारतीय भूपू सैनिक छन् भने पोखरामा मात्र ६३ हजार सैनिक रहेको बताइन्छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी ३ दिने नेपाल भ्रमणको क्रममा कात्तिक १९ गते शुक्रबार पोखरा आउने कार्यक्रम छ । सो अवसरमा एक्स सर्भिसम्यान सेल, पोखराले समस्या समाधानका लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । त्यसका लागि दुतावास र पेन्सन क्याम्पलाई समय मिलाई दिन आग्रह गरिसकेको छ ।