भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालमा

काठमाडौं, १७ कात्तिक/नेपालको तीन दिने राजकीय भ्रमणका लागि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेकी छन्।

राष्ट्रपति भण्डारीले उनलाई पुष्पगुच्छाले स्वागत गरेकी हुन्। नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए। राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो।

सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित थिए। भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो। विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरेका छन्।

राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...