भारत समयमै चुनाव होस् भन्ने पक्षमा : देउवा

२७ जेठ, नयाँदिल्ली । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतले नेपालमा समयमै संविधानसभा दोस्रो चुनाव होस् भन्ने चाहेको वताउनु भएको छ । देउवाले चुनावका लागि भारतीय सहयोग आवश्यक रहेको भन्दै देउवाले भन्नुभयो,’भारत नेपालको शान्ति, समृद्धी र स्थिरता चाहन्छ । त्यसका लागि समयमै चुनाव हुनु पर्छ ।’ नेपाली जनसम्पर्क समिति भारतले सोमवार नयाँ दिल्लीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले भ्रमणका दौरान भारतीय नेता र अधिकारीहरुसँगको भेटबाट आफू उत्साही भएको बताउनुभयो ।1

नेपालको भविश्य नेपालीहरुले बनाउने त्यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सहयोग अनिवार्य रहेको उहाँको भनाई थियो । उहाँले चुनावका लागि आवश्यक सहयोग दिन भारतीय पक्ष तयार रहेको बताउनुभयो । दुई देशबीच भएका विगतका सहमति र सम्झौता कार्यान्वयनमा देउवाको जोड थियो । उहाँले भारतले नेपालको विकासमा दिदै आएको सहयोग अझै बढ्नेमा विश्वास व्यक्त गर्नु भयो । भारत प्रवासमा रहेका नेपालीहरुले जनआन्दोलनका अलावा नेपालको विकासमा उल्लेख्य भूमिका खेलेकोमा प्रशंशा गर्नुभयो । नेपाली जनसम्पर्क समिति भारतको योगदान अविस्मरणीय रहेको भन्दै नेपालमा आर्थिक विकासलाई गति दिन उत्तिकै भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता देउवाले सोमवार नै भारतीय विदेशसचिव सलमान खुर्सिद, विदेशसचिव रन्जन मथाल, केन्द्रीय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेटी वर्तमान राजनीति, चुनावको तयारीलगायतका विषयमा छलफल गर्नुभएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । भेटमा द्विपक्षीय सहयोगका बारे छलफल भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आसन्न चुनावका लागि नेपाली जनता आतुर रहेको भन्दै भारतले सहयोग गर्न देखाएको तत्परताबाट आफूहरु खुशी भएको बताउनुभयो । नेपालमा लोकतन्त्र स्थापना र विकासमा भारतको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपालीहरुको हक हितका लागि दरिलोसँग कुरा राख्न नेताहरुसँग आग्रह गर्नुभयो । नेपालीहरुले पछिल्लो समय बढी समस्या भोगिरहेकाले भारतीय पक्षसँग त्यसबारे छलफल हुन आवश्यक रहेको बताउनुभयो । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले सभालाई नेपाल सरकार र राजनीतिक दलहरूलाई बुझाएको १२ बुँदे ज्ञापन पत्र पूर्वप्रधानमन्त्री देउवालाई बुझाउँदै भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसमक्ष सम्बन्धीत विषयमाबारे छलफल गर्न आग्रह गर्नुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/80570/#sthash.uoEacxNI.dpuf

कमेन्टहरु
Loading...