नवजात शिशुको मृत्युदर घटाउन चिकित्सकलाई तालिम

काठमाडौं, ९ कार्तिक /अन्तराष्ट्रिय सामजिक संस्था ब्रेथ अफ लाईफ नेपालले नवजात शिशु स्याहारसम्बन्धी एड्भान्स्ड तालिम सुरु गरेको छ । काठमाडौमा सोमबार देखि सुरु तालिममा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई शिशु स्याहार, शिशु स्याहारसम्बन्धी आवश्यक प्रविधि तथा उपकरण प्रयोग र जडानजस्ता विषयमा प्रशिक्षण दिइने छ ।

नेपालमा जोखिममा रहेका नवजात शिशुको जीवन रक्षाका लागि ब्रेथ अफ लाईफ संस्थाले ईटालियन संस्था एएनटीसँगको सहकार्यमा देशका विभिन्न अस्पतालमा आवश्यक प्रविधि तथा उपकरण हस्तान्तरण तथा जडान, उपकरणको निरीक्षण तथा मर्मतसम्भार गर्ने लगायतका कार्यहरु संचालन गर्दै आएको छ । पाँच दिने तालिमका क्रममा काठमाण्डौं, पोखरा र चितवनका नौ जना चिकित्सक र नौ जना नर्सको सहभागीता रहेको छ ।

इटालीका शिशुस्याहार विशेषज्ञ प्रा मारियो डि कुर्टिस, भियतनामका डा. डो तुआन आन लगायतका अन्तर्राष्ट्रिय शिशुस्याहार विशेषज्ञको टोलीले तालिम प्रदान गर्ने छन् । ब्रेथ अफ लाईफ, नेपालका लागि निर्देशक कुशल थापाले तालिम निकै उपयोगी रहेको बताउँदै नवजात शिशुको जीवनरक्षा र बाल मृत्युदर न्युन गर्नका लागि महत्वपूर्ण हुने बताए । त्यसैगरी पश्चिमान्चल क्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ तथा प्रशिक्षार्थी टोलीका प्रमुख डा यज्ञराज सिग्देलले नवजात शिशुको मृत्युदर न्युन गर्न यो तालिम सहयोगी हुने बताए ।

डा. सिग्देलले नेपालमा जन्डिस र विभिन्न श्वासप्रश्वाससम्बन्धी रोग नवजात शिशुको मृत्युदरको कारक रहेको र सरकारले मृत्युदर घटाउन निर्धारण लक्ष्य प्राप्त गर्न नसकेको बताए । यस्तो अवस्थामा यो तालिमको अपरिहार्यता रहेको बताउँदै तालिमले चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउने र शिशु स्याहारसम्बन्धी अत्याधुनिक प्रविधि तथा उपकरण प्रयोग गर्न सीप र ज्ञान प्रदान गर्ने बताए ।

ब्रेथ अफ लाईफअन्तर्गत संचालित कार्यक्रम तथा देशका विभिन्न प्रसुति अस्पतालमा जडित उपकरणले शिशु मृत्युदर तथा संक्रमण कम गर्न महत्वपूर्ण योगदान रहेको छ । यसैबीच करिब १४ महिनाअघि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पाँच महिना चार दिनमा जन्मिएको ५५८ ग्राम तौलको शिशुलाई ब्रेथ अफ लाईफद्वारा जडित उपकरणमार्फत् सफलतापुर्वक बचाइएको थियो ।

कमेन्टहरु
Loading...