गोरखा, कात्तिक ७ ।सरकारले धादिङको बेनीघाट हुँदै गोरखाको लार्के भञ्ज्याङसम्मको ‘बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ’ सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ । उक्त सडक निर्माणलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, रक्षामन्त्री बालकृष्ण खाँण, सो क्षेत्रका सांसदलगायत सम्बन्धित उच्च सरकारी अधिकारीले स्थलगत अवलोकन तथा स्थानीयसँग छलफलसमेत गरेका छन् ।
गोरखाको सामागाउँमा आयोजित अन्तरक्रियामा रक्षामन्त्री खाँणले नेपाली सेनाले मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षासँगै विकास निर्माणमा पनि अतुलनीय योगदान पुर्यााएको बताए । बेनीघाट–लार्केभञ्ज्याङ सडकको अनुमानित लम्बाई १८० किलोमिटर छ ।हालसम्म ६२ किमीमात्र ट्र्याक खुलेको छ भने त्यसमा पनि ५८ किमी सम्ममात्र यातायात सञ्चालन भएको छ । कडा चट्टानी भीर फोर्न आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण सेनाको ब्यारेकमा मात्र राख्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि बाटोको ट्र्याक खोल्ने काम सेनालाई दिँदा काम छिटो हुने सरकारको योजना छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखकले गोरखाको उत्तरी क्षेत्रमा जटिल भौगोलिक अवस्था भए पनि पर्यटन र कृषि–पशुपालनको अपार सम्भावना रहेको बताउँदै विकास पूर्वाधारको अभावले आझेलमा परेको धारणा व्यक्त गरे ।उक्त सडकको ट्र्याक खोल्न बाँकी १२० किमीमध्ये अधिकांश स्थानमा कडा चट्टानी भीर भएकाले भौतिक मन्त्रालयले सडक निर्माणको जिम्मा सेनालाई दिने सहमति गरिसकेको छ ।