ललितपुरको बालकुमारीमा प्राकृतिक ग्यासप्लान्टको सफल परीक्षण

काठमाडौं, कात्तिक ५ ललितपुरको बालकुमारीमा प्राकृतिक ग्यासप्लान्टको सफल परीक्षण गरिएको छ ।उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज प्लान्टको उद्घाटन गरे । ३५ लाख लगानीमा ग्यासकुवा एवं १५ लाख लगानीमा मोबाइल ग्यासप्लान्ट तयार गरिएको हो । खानी तथा भू–गर्भ विभागले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस तथा नास्टको समन्वयमा नेपाल मै पहिलोपटक ग्यासप्लान्ट तयार पारिएको हो ।

प्लान्टबाट अहिले तीन ओटा पाइपको माध्यमबाट चुलो बाल्न सकिने छ । ३५० मिटर गहिरो कुवाबाट पम्पले तानेर पानीसँगै आउने ग्यास सेपेरेसन च्याम्बरमा छुट्याइन्छ ।पछि उक्त ग्यास मोबाइल प्लान्ट मार्फत् वितरण गर्न सकिने विभागले जनाएको छ ।उक्त कुवाबाट १५ भाग पानीसँग १ भाग ग्यास आउने विभागले जनाएको छ । पहिलाको परीक्षणमा ग्यासको मात्रा बढी देखिए पनि अहिले भने ग्यासको मात्रामा कमी आएको विभागले जनाएको छ ।

जापान सहयोग नियोग जाइकाको सहयोगमा खानी तथा भू–गर्भ विभागले सन् १९७८ मा काठमाडौंको जमिन मुनि प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो ।उक्त अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वर सहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यासभन्डार रहेको पाइएको थियो ।

कमेन्टहरु
Loading...