देवरले भाउजुको हत्या गरेको विषयमा उदयपुर बेल्टारबजार तनावग्रस्त

उदयपुर, २७ असोज/उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टार बजार बुधबाररातिदेखि तनावग्रस्त बनेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको विषयलाई लिएर तनावग्रस्त भएको हो ।

गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको प्रहरीले जानकारी दिएको छ । भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउने क्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ । पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए ।

अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ । राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको छ ।

कमेन्टहरु
Loading...