बीरगन्ज, २४ असोज/नेपाल प्रहरीको इन्काउन्टरमा बीरगन्जमा आइतबार राति एक भारतीय अपराधी मारिएका छन् । बाटोमा चेकजाँचमा खटिएका प्रहरी टोलीमाथि फायरिङ गरेर भाग्न खोजेका व्यक्तिलाई प्रहरीको कारवाहीमा मारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोतले मारिएका व्यक्ति केही महिना अगाडि भएको बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी सीमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै आएका दिलसाद आलम हुन् ।
बीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १९ भिस्वा टोलमा सडकमा चेकिङमा रहेका प्रहरीमाथि रक्सौल तर्फबाट आएको मोटरसाईकलमा सवारले फायरिङ गरेर भाग्न खोजेपछि जवाफी कारवाही गरिएको प्रहरीको भनाई छ । मोटरसाइकलको पछाडि बसेकाले फायरिङ गरेको र उनीनै प्रहरी कारवाहीमा मारिएको प्रहरीले जानकारी दियो । मोटरसाइकल चालक भने भाग्न सफल भएका छन् । घटना राति करीब ८ बजेतिरको हो ।
व्यापारिक कामका सिलसिलामा बाराको गढीमाई पुगेर फर्किदै गरेका बेला गत जेठ १३ गते साँझ व्यापारी केडिया कलैया नगरपालिकाको पसाहा पुलबाट अपहरणमा परेका थिए । नेपाल र भारतका प्रहरीको विशेष सक्रियतामा केडिया सीमापारीबाट चार दिनपछि मुक्त भएका थिए । उक्त घटनामा आलम सहितको संलग्नता रहेको खुलेको थियो ।